हेटौँडाः हेटौँडा–४, कर्रास्थित श्रमिक माविका पूर्वविद्यार्थीले विद्यालयमा स्थापना गरिएको अक्षकोषमा सहयोग गरेका छन् । बुधबार विद्यालयमै पुगेर २०४६, २०४७, २०४८ सालमा एसएलसी समूहका विद्यार्थीले ५१ हजार एक सय ११ रुपैयाँ सहयोग गरेका हुन् । पूर्वविद्यार्थीका संयोजक मनकुमारी लामा नेतृत्वको विद्यार्थीको समूहले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्की र प्रधानाध्यापक श्रीराम दाहाललाई सहयोग रकमको चेक हस्तान्तरण गरे ।
श्रमिक माविले स्थापना गरेको अक्षयकोषमा दुई लाख ५० हजार रुपैयाँ पुगेको छ । विद्यालयले कोषमा पाँच लाख रुपैयाँ जम्मा गरेपछि वडाले पनि ५ लाख रुपैयाँ थप्ने प्रतिवद्धता जनाएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा पूर्वविद्यार्थी दीपक सुवेदीले विद्यालयको भौतिक र शैक्षिक गुणस्तरमा उल्लेख्य सुधार आएको र आगामी दिनमा पनि सहयोग जारी राख्ने बताउनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्कीले आफू पनि पूर्वविद्यार्थी नै भएको र पूर्वविद्यार्थीको तर्फबाट प्राप्त सहयोग महत्वपूर्ण भएको बताउनुभयो । विभिन्न समयका विद्यार्थीले आआफ्नो तर्फबाट विद्यालयलाई सहयोग गर्दै आएको जानकारी गराउनुहुँदै पूर्वविद्यार्थीहरुको एकीकृत समूह निर्माणका लागि विद्यालयले पहल गरेको उहाँले जानकारी दिनुभएको छ ।
पूर्वविद्यार्थीले हालै स्वेच्छिक अवकास लिनुभएकी शिक्षक शान्ता घलान र कार्यालय सहयोगी काजीमान मोक्तान र कार्यरत कार्यालय सहयोगी अर्जुन रिजाललाई सम्मान गरेका छन् । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष अजीव भट्टराई, श्रमिक पूर्वविद्यार्थी समूहका अध्यक्ष सुरेश श्रेष्ठको पनि उपस्थिति रहेको थियो । १० कक्षासम्म पठनपाठन हुने श्रमिक माविमा ६ सय विद्यार्थी अध्ययनरत छन् ।