Home मुख्य समाचार नवज्योति माविका प्रधानाध्यापक नै काज सरुवा लिएर हिँडे, मावि दरबन्दी शून्य

नवज्योति माविका प्रधानाध्यापक नै काज सरुवा लिएर हिँडे, मावि दरबन्दी शून्य

हेटौँडाः हेटौँडा–७ स्थित नवज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र दाहाल काज सरुवा लिएर हिँड्नु भएको छ । विद्यालयको समग्र विकासको नेतृत्व गर्नुपर्ने प्रधानाध्यापक दाहाल विद्यालय व्यवस्थापन समितिलाई जानकारी नै नदिई पालिकाबाट काज सरुवा लिएर हिँड्नु भएको हो । नगर शिक्षा समिति सदस्य समेत रहनुभएका दाहाल पालिकाको काज सरुवा लिएर हेटौँडा–१३ स्थित युगचेतना माविमा जानुभएको छ । दाहालले विद्यालय छाडेसँगै नवज्योतिमा माध्यमिक दरबन्दीका स्थायी शिक्षक शून्य भएको छ ।

विद्यालय व्यवस्थापन समितिलाई जानकारी नै नगराई प्रधानाध्यापकको काज सरुवा गरिएको विषयमा बुझ्दा हेटौँडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाका प्रमुख सीताराम कोइरालाले व्यवस्थापन समितिसँग परामर्श गरेरै सरुवा गरिएको दावी गर्नुभयो । यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमप्रसाद अधिकारीले भने विद्यालयको शैक्षिक अवस्था असाध्यै कमजोर भएको, प्रधानाध्यापकले उपयुक्त योजना ल्याउन नसकेको र प्रधानाध्यापक परिवर्तनमा पनि सहयोग हुन नसकेको सन्दर्भमा सहमति बिनानै प्रधानाध्यापक नै काज सरुवा लिएर हिँड्नु विद्यालयको हितमा नभएको बताउनुभयो । सोमबार साँझ विद्यालयका शिक्षक विमल गौतमले प्रधानाध्यापक दाहालले बुझ–बुझारत गरेर काज सरुवा लिई जानुभएको जानकारी गराएपछि मात्रै थाहा भएको अध्यक्ष अधिकारीको भनाई छ ।

काज सरुवा लिएर हिँड्नु भएका प्रधानाध्यापक ज्ञानेन्द्र दाहालले भने आफूलाई काम गर्ने वातावरण नभएकोले काज सरुवा लिएर हिँड्नु परेको बताउनुभयो । दाहाल नवज्योति माविको माध्यमिक तहको एकजना मात्रै शिक्षक हुनुहुन्थ्यो । दाहालले काज सरुवा लिएर हिँड्नुभएपछि नवज्योति मावि माध्यमिक तहको स्थायी शिक्षकविहिन विद्यालय बन्न पुगेको छ । नगरप्रमुख मीना कुमारी लामाले दाहाललाई नगर शिक्षा समितिमा प्रधानाध्यापकको तर्फबाट मनोनित गर्नुभएको हो ।

मकवानपुरकै एक गाउँपालिकाका शिक्षा शाखाका प्रमुखका अनुसार काज सरुवामा सामान्यतः काज सरुवा भएर जाने शिक्षकलाई पठाउने र पाउने दुबै विद्यालयका व्यवस्थापन समितिको सहमति जरुरी रहने बताउनुहुन्छ । असामान्य अवस्थामा पालिकाको शिक्षा समितिले सिधै निर्णय गर्न सक्ने भए पनि त्यसमा औचित्य पुष्टि हुने गरी निर्णय गर्नुपर्ने उहाँको भनाइ छ । “कहीँ गणित विषयको दरबन्दीका दुईजना शिक्षक छन् र कुनै अर्को विद्यालयमा गणित विषयको शिक्षक अभाव छ भने त्यस्तो अवस्थामा पालिकाले काज सरुवा गर्न सक्छ”, ती अधिकृतले भने ।

व्यवस्थापन समितिको सहमति, निर्णय बिना नै पालिकाले काज सरुवा गर्नु आपत्तिजनक भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमप्रसाद अधिकारीको भनाइ छ । २०८० सालको एसईईमा सहभागी १५ जना विद्यार्थी मध्ये एकजना विद्यार्थी मात्रै कक्षा ११ मा भर्ना हुन योग्य भएका थिए । प्रधानाध्यापक दाहालले अध्यापन गराउने विषय अनिवार्य गणितमै १४ जना विद्यार्थी अयोग्य ठहरिएको स्थितिमा प्रधानाध्यापकले विद्यालयको शैक्षिक अवस्था सुधार गर्न नसकेको र वैकल्पिक बाटो पनि नदिएको अध्यक्ष अधिकारीको गुनासो छ । वडाकै एक मात्र सामुदायिक माध्यमिक विद्यालयमा दुई सयभन्दा कम विद्यार्थी अध्ययनरत छन् ।

शिक्षासमेत हेर्ने हेटौँडा उपमहानगरपालिकाको सामाजिक विकास समितिका संयोजक रामकृष्ण कोइरालाले व्यवस्थापन समितिका अध्यक्षसँग समन्वय गरेरै प्रधानाध्यापक दाहालको काज सरुवा गरिएको जानकारी दिनुभयो । उहाँले नवज्योति माविका लागि वैकल्पिक व्यवस्था गर्न पनि आफू तयार रहेको उहाँको भनाइ छ ।

Exit mobile version