रेफ्रीलाई बल हस्तान्तरण गरी प्रतियोगिताको सुरुवात गर्नुहुँदै नगरप्रमुख मीना कुमारी लामा ।

हेटौँडाः तेस्रो संस्करणको रोटरी मकवानपुर पिप्ले क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता सुरु भएको छ । रोटरी क्लब अफ मकवानपुरको आयोजना, पिप्ले युवा क्लबको सहआयोजना तथा हेटौँडा उपमहानगरपालिकाको मुख्य सहयोगमा सुरु भएको प्रतियोगिता भएको हो ।

हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा तथा रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष अनिल अग्रवालको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको हो । हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सुरु भएको प्रतियोगितामा नागस्वती भेट्रान्स हेटौँडा र चितवन भेट्रान्स बीच उद्घाटन खेल सुरु भएको छ । पहिलो र दोस्रो संस्करणको प्रतियोगिताको प्रथम पुरस्कार एक लाख रुपैयाँ र द्वितीय पुरस्कार ७५ हजार रुपैयाँ रहेकोमा यस वर्षबाट पुरस्कारको रकम बढाइएको छ ।

२०७२ र २०७३ सालमा सम्पन्न पहिलो र दोस्रो संस्करणको उपाधि चितवन भेट्रान्सले जितेको थियो । प्रतियोगिताको उपाधि विजेता टिमले दुई लाख दुई हजार दुई सय २२ रुपैयाँ र उपविजेता टिमले एक लाख एक हजार एक सय ११ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा १५ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल भदौ ३१ गते हुनेछ ।