निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख सचिव कार्की ।

हेटौँडाः बागमती प्रदेश सरकारका प्रमुख सचिव गोविन्द बहादुर कार्कीले कर्मचारीतन्त्रको विकल्प नरहेको बताउनुभएको छ । उहाँले कर्मचारी प्रणालीको विकल्प नरहेको र यसमा सुधारको आवश्यक रहेको औँल्याउनुभएको छ । निजामती सेवा दिवस २०८१ को अवसरमा प्रदेश सरकारको आयोजनामा हेटौँडामा शनिबार भएको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख सचिव कार्कीले सुधारिएको कर्मचारी प्रशासन प्रणाली नै कर्मचारीतन्त्रको उपयुक्त विकल्प भएको बताउनुभयो ।

सेवा प्रवाह, कानुन निर्माण तथा विकासका काममा निजामती कर्मचारीहरुको महत्वपूर्ण भूमिका रहेको उहाँको भनाई छ । कर्मचारी क्षेत्रमा रहेका केही कमिकमजोरीका कारण प्रशासन प्रणाली माथि नै प्रश्न उठिरहेको उहाँले बताउनुभयो । प्रमुख सचिव कार्कीले कर्मचारी प्रशासनमा संक्रमण रहेको समेत बताउनुभयो । संक्रमणको अवधि कहिलेसम्म रहने थाहा नहुँदा कर्मचारी प्रशासनमा द्विविधा रहेको उहाँले स्पष्ट पार्नुभयो ।

कर्मचारी प्रशासको सुधारको प्रयत्न भइरहेको उहाँले जानकारी दिनुभयो । कर्मचारी प्रशासनको सुधार अरुबाट भन्दा पनि आफैबाट सुरु गर्नुपर्ने उहाँले बताउनुभयो । संघीय प्रणाली लागु भएको ७ वर्षको अवधिमा पनि संघीय निजामती ऐन आउन नसक्नु दुःखद् भएको प्रमुख सचिव कार्कीको भनाई छ । प्रदेश सरकारले बनाएका निजामती ऐनसँग हाल कार्यान्वयनमा रहेको र केही विषयहरु संघीय ऐन बाझिदा सार्वजनिक प्रशासन सेवामा प्रत्यक्ष असर पुगेको सचिव कार्कीले बताउनुभयो ।

यसैगरी कार्यक्रममा बोल्नुहुँदै प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले कर्मचारीले सुशासनमा ध्यान दिन नसकेको बताउनुभयो । विभिन्न समयमा लाग्ने गरेको कर्मचारीहरु सिर्जनशीलताको अभावको आरोपलाई उहाँले खण्डन गर्नुभएको छ । उहाँले कर्मचारी प्रशासनले सिर्जनशील भएर पेशागत व्यावसायिकतालाई अभिवृद्धि गर्नेतर्फ ध्यान केन्द्रित भइरहेको बताउनुभयो । व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन भन्ने नाराका साथ मनाइएको निजामती सेवा दिवस २०८१ का अवसरमा कविता प्रतियोगिता समेत आयोजना गरिएको थियो । कार्यक्रममा कविता प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने क्रमशः सानुबाबु खनाल, रुद्रप्रसाद शर्मा र गोपिनी गौतमलाई पुरस्कृत समेत गरिएको थियो ।