फाइल तस्वीर ।

हेटौंडाः हेटौंडामा पहिलो संस्करणको जिल्लास्तरीय पुरुष भेट्रान्स भलिबल प्रतियोगिता हुनेभएको छ । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान मकवानपुरको आयोजनामा तथा छहारी सेवा समाजको सह–आयोजनामा आगामी असोज ३ गतेदेखि ५ गतेसम्म प्रतियोगिता हुने भएको हो ।

हेटौंडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा हुने प्रतियोगिता लिगकम नकआउट प्रणालीमा सञ्चालन हुने मकवानपुर जिल्ला भलिबल संघको कोषाध्यक्ष शंकर कार्कीले जानकारी दिनुभएको छ । प्रतियोगितामा मकवानपुर जिल्ला खेलकुद विकास समिति र जिल्ला भलिबल संघको सहकार्यमा हुने कोषाध्यक्ष कार्कीले बताउनुभयो । १ वर्ष पहिलेदेखि मकवानपुर जिल्लालाई कर्मथलो बनाई सेवा गर्दै आइरहनु भएका बाहिरी जिल्लाका नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा कार्यरतहरू बाहेकका शिक्षक तथा अन्य कर्मचारीहरूले भलिबल प्रतियोगितामा सहभागिता जनाउन पाउने उहाँले बताउनुभयो । खेलाडीहरुलाई भलिबल खेलप्रतिको रुचि बढाउन, खेलको महत्वबारेमा बुझाउन र एक अर्काबीच भातृत्व कायम गराउन र राष्ट्रियस्तरमा पुर्याउनका लागि आयोजना गर्न लागेको प्रतियोगितामा करिब १२ वटा टिमको सहभागिता रहने आयोजकको अनुमान छ ।

प्रतियोगिताको खेलतालिक असोज २ गतेसम्म सार्वजनिक गरिने बताइएको छ । प्रतियोगिता आयोजनाका लागि करिब १ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ । प्रतियोगिताको उपाधि विजेता टिमले ३० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कार प्रदान गरिने बताइएको छ ।