राजकुमार मल्ल, अध्यक्ष, राक्सिराङ गाउँपालिका

अहिले देशभर मनसुन सक्रिय भइसकेको छ । देशैभर बाढी, पहिरोको जोखिम बढेको छ । केही जिल्लामा ठूलो जनधनको पनि क्षति भैसकेको अवस्था छ । अहिले देशका विकट स्थानहरुमा बाढी पहिरोमा भएको भौतिक सँगै मानवीय क्षतिको उद्दारका लागि पुग्न समस्या पर्दै आएको छ । हुस्सु र भारी वर्षाका कारण उद्दारका लागि हेलिकप्टर समेत घटनास्थल पुग्न सक्ने अवस्था छैन । यस्तो अवस्थामा मकवानपुर जिल्लाको विकट राक्सिराङ गाउँपालिकाले बाढी, पहिरो तथा चट्याङ जस्ता विपदबाट बच्च के कस्तो तयारी गरेको छ भन्ने विषयमा केन्द्रित रहेर समृद्ध समाज दैनिकका संवाददाता सुसन लामिछानेले राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल सँग गर्नुभएको कुराकानीः

समाजः अहिले मनसुन सक्रिय भए सँगै देशका विभिन्न जिल्लाहरुमा बाढीपहिरोका कारण जनधनको क्षति भएको छ । राक्सिराङ गाउँपालिकामा बाढी र पहिरोको जोखिमको पूर्वानुमान र सतर्कताको अवस्था के छ ?
मल्लः राक्सिराङ गाउँपालिका बाढी, पहिरो प्रभावित क्षेत्र हो । अहिले बाढी र पहिरोबाट सुरक्षित रहन हामीले प्रत्येक गाउँ र टोलमा नागरिकहरुलाई सतर्क रहन अनुरोध गरेका छौं । विपत्तिमा आवश्यक पर्ने औजारहरु खरिद गरिसकेका छौं । अहिले सडकमार्गहरु सबै अबरुद्ध भैसकेको अवस्था छ । मनहरीबाट चैनपुर जाने सडकमा ठूलो पहिरो गएर आउजाउ रोकिएको छ । सिमकोट हुँदै सरिखेत जाने स्थानमा पनि छिटपुट पहिरोहरु गएका छन् । त्यहाँ अटो, गाडिहरु चलेका छन् । खैराङ जाने बाटो पूर्ण बन्द भएको छ । परेवा भिरमा खोलाले हानेका कारण पैदल आवातजावत गर्न समेत समस्या भएको छ । अहिले गाउँपालिकामा अप्रिय घटना भएको छैन भने धनजनको क्षति भएको भन्ने विवरण आइपुगेको छैन ।

समाजः गत वर्षको घटनाहरुलाई हेर्दा राक्सिराङ गाउँपालिकाको कुन–कुन वडा र स्थानहरुमा बाढी र पहिरोको दृष्टिले जोखिम देखिएको छ ?
मल्लः भिरालो जमिन भएका कारण प्रायःजस्तो सबै स्थान नै जोखिममा छन् । यसमध्ये अहिले जोखिम स्थानमा वडा नम्बर ४, ६, ७, ८ तथा खैराङको ९ नम्बर वडामा जोखिम छ । अहिले विभिन्न स्थानहरुमा बाटो खोलिएको छ । यसकारण भूक्षय हुने खतरा पनि छ । यसरी नै वर्षा भैरहने हो भने गाउँपालिकामा बाढी, पहिरो जाने जोखिम छ । सहरी क्षेत्र चैनपुर समथर भएका कारण त्यहाँ जोखिम कम छ । समग्रमा हाम्रो ९ वटै वडा जोखिममा छ ।

समाजः बाढी पहिरोबाट प्रभावित भए गाउँवासीको उद्दार र संरक्षणका लागि के कस्तो तयारी गर्नुभएको छ ?
मल्लः दुई वडाहरुमा रेडक्रसले सहयोग गरेको स्वयम्सेवकहरुलाई सतर्क रहन आग्रह गरेका छौं भने अन्य वडाहरुमा विपदको बैठक बसेर तयारी रहन हामीले सर्कुलर गरिसकेका छौं । गाउँपालिकाले उद्दारका लागि उपयोगी सामानसहित, जस्तापाता, खाद्यान्न खरिद गरिसकेको छ । अहिले २ दिनदेखि राक्सिराङको माथिल्लो भेगमा भारी वर्षा भएको छ । अहिले गाउँपालिकामा इन्टरनेट चलेको छैन भने लेक क्षेत्रमा सोलार प्यानलबाट चार्ज हुनपर्ने टावरहरु चार्जिङ भएका छैनन् । कुनै स्थानहरुमा एफएफ पनि स्पष्ट बजेको छैन । यस्तो अवस्थामा स्वयम्सेवक, सुरक्षाकर्मी र जनप्रतिनिधीहरुको हामीले सम्पर्क गरेर तयारी अवस्थामा रहन आग्रह गरिसकेका छौं । अहिले हामी कुनै विपद आइहाल्यो भने राहत लिएर जाने गरी तयारी अवस्थामा बसेका छौं ।

समाजः राक्सिराङ गाउँपालिकामा सबै वडामा विपद व्यवस्थापन समिति गठन भएका छन् ?
मल्लः हाम्रो ९ वटै वडामा विपद व्यवस्थापन समिति गठन भैसकेको अवस्था छ । सबै वडाहरुमा यो समिति सक्रिय रहेको छ ।
समाजः राक्सिराङ गाउँपालिका बाढी, पहिरोसहित चट्याङ प्रभावित क्षेत्र हो । यसबाट बच्न के प्रयासहरु भएका छन् ?

मल्लः केही स्थानमा चट्याङ प्रतिरोधात्मक लाइन एरेस्टर राखेका छौं । गाउँपालिकामा राखिसकेको छ । गाउँपालिकाको ६ र ८ नम्बर वडामा राख्ने तयारी गरेका छौं । अहिले लकडानका कारण काठमाडौं र मलेसियाबाट सामग्रीहरु आउन पाएको छैन । गाउँघरमा लाइन एरेस्टरहरुलाई हरेक घरमा राख्न सम्भव छैन । अहिले हामीले हरेक टोलमा भेट्ने गरी राख्ने कि प्रत्येक घरघरमै राख्ने भन्ने अनुसन्धान भैरहेको छ । ठूलो टोललाई लक्षित गरेर चट्याङ प्रतिरोधात्मक राख्ने भनिएपनि अहिले खोजी कार्य भैरहेको छ । थोरै लागनी भएका कारण ठूला–ठूला एरेस्टर राख्न सकिएको छैन ।

समाजः बाढी पहिरोको जोखिमबाट बच्न जिल्लास्तरीय सरोकारवालासँग कसरी समन्वय भैरहेको छ ?
मल्लः अहिलेको अवस्थामा हामी स्थानीय सरकार नै जिल्ला विपद समितिको सदस्य रहेका कारण जिल्लामा भएका छलफल हरेक वडाको विपद समितिम पु¥याउने गरेका छौं । विपद्को जानकारी जिल्लामा गराउने र आवश्यक थप सहयोगका लागि सहकार्य गर्दै अगाडि बढ्ने निर्णय भएको छ ।