हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा उपमहानगरका ३ सय ३४ जना परिवारलाई स्वास्थ्य बीमा गरिदिएको छ । उपमहानगरको कार्यपालिका बैठकले निणर्य गरे अनुसार सो बीमा गरिएको हो । चालु आर्थिक वर्षको निति तथा कार्यक्रममा ५ सय जनाको स्वास्थ्य बीमा गरिने भनिए पनि १९ वटा वडाबाट ३ सय ३४ जनाको मात्र चालु वर्षमा बीमा गरिएको हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिनाकुमारी लामाले जानकारी दिनुभयो ।
कार्यपालिका बैठकले सिमान्तकृत, लोपउन्मुख समुदाय र आर्थिक रुपमा अति विपन्न परिवारलाई स्वास्थ्य बीमा गरेको हो । आर्थिक अभावकै कारण विभिन्न रोगहरु लाग्दा उपचार गराउन नसकेर रोगको सिकार हुने हुँदा उपमहानगरपालिकाका सबैमा स्वास्थ्यको पहुँच पुर्याउन बीमा गरिएको उपमहानगरपालिकाकी उपमेयर लामाले जानकारी दिनुभयो । नगरका ३ सय ३४ परिवारलाई एक लाख रुपैयाँको स्वास्थय बीमा गरिएको छ । ति परिवारले एक वर्ष सम्म एक लाख सम्मको उपचार गर्नको लागि बीमा मार्फत औषधि र उपचार गर्न मिल्नेछ ।
हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा पनि चालु आर्थिक वर्षबाट सुरु गरिएको सिमान्तकृत, लोपउन्मुख समुदाय र आर्थिक रुपमा अति विपन्न परिवारलाई स्वास्थ्य बीमा गर्ने कार्यलाई निरन्तरता दिइने निति तथा कार्यक्रममा उल्लेख गरेको छ । उपमेयर लामाका अनुसार आगामी आर्थिक वर्षमा २ सय ५० परिवारको स्वास्थ्य विमा गरिने योजना रहेको छ ।