हेटौँडाः मकवानपुरका युवाले भीमफेदी–सुपिङ पदयात्रा सम्पन्न गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियन हेटौंडा क्याम्पसको आयोजना तथा हेटौँडा हाइकर्स र नगरस्तरीय युवा सञ्जालको समन्वयमा आयोजित पदयात्रामा मकवानपुरका १२० जना युवाहरु सहभागी थिए । शनिबार भएको पदयात्रामा सहभागी युवाहरुले हाइकिङसँगै मनोरञ्जन लिएका थिए ।
हाइकिङमा ६० जना हेटौंडा क्याम्पसका, ४५ जना हेटौंडा हाईकर्सका र नगरस्तरीय सञ्जालका पदाधिकारी सहभागी थिए । हेटौँडाबाट भीमफेदी हुँदै सुपिङसम्म करिब १ घण्टा बसमा यात्रा गरी सुपिङदेखि किवी फर्म हुँदै ३ घण्टाको पैदल यात्रापछि हात्तिसुँडेडाँडासम्मको यात्रा गरिएको हो । स्वतन्त्र विद्यार्थी युनियन हेटौंडा क्यापसका अध्यक्ष अभि मैनालीले नयाँ ठाउँको अवलोकन र प्राकृतिक सम्पदाको प्रवद्र्धन गर्ने उद्देश्यले पदयात्राको आयोजना गरेको जानकारी दिनुभयो । “विद्यार्थी राजनीति भनेपछि सडक आन्दोलन, नारा, जुलुस गर्ने भन्ने बुझाई पनि हुनसक्छ तथा हामी विद्यार्थीहरुको कौशल, ज्ञानको वृद्धि गर्ने तथा विद्यार्थीको हितका लागि काम गरिरहेका छौं”, मैनालीले भन्नुभयो । मैनालीले यस कार्यक्रमबाट पदयात्रा संस्कृति उजागर गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा अवलोकनकर्ताहरुलाई सुपिङका बासिन्दाले स्थानीय खैँजेडी भजन र पञ्चेबाजा बजाएर स्वागत गरेका थिए । सहभागीले नेपाली धार्मिक एवम साँस्कृतिक पञ्चेबाजा र खैँजेडी भजनको महत्वको विषयमा जानकारी पाएका थिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सञ्जिव श्रेष्ठ तथा वडा अध्यक्षहरुले स्थानीय उत्पादन चनाको तरकारी, काँक्रो, दूध अण्डासहितको नास्ताको व्यवस्था गरेका थिए । पदयात्राका सहभागीलाई कृषि व्यवसायको बारेमा जानकारी दिने र प्रोत्साहन गर्ने हेतुले किमुशेरी ग्रुप प्रालिद्वारा सञ्चालित किवी फार्मको अवलोकन गराइएको थियो । सञ्चालक सुरज लामाले किवीको उत्पादन व्यवस्थित र व्यावसायिक तरिकाले गर्ने विषयमा जानकारी गराउनुभएको थियो ।
प्रकृतिको संरक्षण र वातावरण स्वच्छताका लागि पदयात्रामा सहभागीले आफूले प्रयोग गरी निस्केका फोहोर र यात्रामा अव्यवस्थित भेटिएका प्लास्टिक, बोतल तथा अन्य फोहोरजन्य वस्तुहरुको उचित व्यवस्थापन गरेका थिए । हेटौँडा हाइकर्सका अध्यक्ष सरोज विष्टले ५ वर्षदेखि हाइकिङ गर्दै आएको जानकारी दिनुहुँदै यसपटक स्ववियु र युवा सञ्जालसँग सहकार्य गर्दै पदयात्रा गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । आगामी दिनमा नयाँ स्थानको पहिचान गरी पदयात्रालाई निरन्तरता दिने योजना रहेको विष्टको भनाई रहेको थियो । पदयात्राको टोलीले कार्यक्रममा सहयोग गरेका भीमफेदीका उपाध्यक्ष श्रेष्ठसहित ५ नम्बर वडा अध्यक्ष जहारसिं लामा, ४ का वडा अध्यक्ष सागर पाण्डेसहित सहयोगीलाई मायाको चिनो स्वरुप किताब प्रदान गरिएको थियो ।