सांकेतिक तस्वीर ।

हेटौँडाः दोलखा जिल्लामा सेफ्टी ट्याङकीमा डुबेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा जिल्लाको बिगु गाउँपालिका–४ स्थित लादुकका ५४ वर्षीय तीर्थ बहादुर तामाङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

बुधबार दिउँसो २ बजेर ३० मिनेटको समयमा सोही ठाउँस्थित लिङ दोर्जा तामाङको घरमा सेफ्टी ट्याङकी सफा गर्न गएकोमा डुबेर तामाङको मृत्यु भएको हो । ३७ वर्षीय आइते तामाङसँग ट्याङ्की सफा गर्न गएका तामाङको डुबेर मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिएको थियो । तामाङको शव बुधबार राति ११ बजे पोष्टमार्टमका लागि पशुपति चौलागाई स्मृति अस्पताल दोलखामा लगिएको प्रहरीले जनाएको छ ।