मनहरीः मकवानपुरको मनहरी गाउँपालिकामा प्रथम संस्करणको जोन राना मगर स्मृति खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । सयपत्री युवा क्लबको आयोजनामा गाउँपालिका वडा नम्बर–६, स्थित जोगिताल खेल मैदानमा सुरु भएको उद्घाटन खेलमा गाउँपालिकाको नयाँवस्ती क्लबले विजयी सुरुवात गरेको छ । बुधबार भएको उद्घाटन खेलमा हेटौंडा फुटबल एकेडेमीको जुनियर टिमलाई हराउँदै नयाँवस्ती क्लबले विजयी सुरुवात गरेको हो ।
पहिलो हाफको दोस्रो मिनेटमै टिमलाई अग्रता दिलाउन सफल भएको हेटौँडा फुटबल एकेडेमी विरुद्ध नयाँवस्तीले पहिलो हाफको २५ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएको थियो । एकेडेमीबाट सुदीप लामाले पहिलो गोल गरेका थिए भने नयाँवस्तीबाट सन्देश श्रेष्ठले एक गोल फर्काउँदै खेललाई बराबरीमा पुर्याएका थिए । दोस्रो हाफको १२ औं मिनेटमा नयाँवस्ती क्लबका अञ्जन चौधरीले गोल गर्दै टिमलाई जीत दिलाएका हुन् । म्यान अफ द म्याच नयाँ वस्तीका सन्देश श्रेष्ठ घोषित भएका छन् । उनले मायाको चिनो र नगद पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगिता अन्तर्गत आज बिहिबार पहिलो खेलमा विजयुन एफसी र मिसन–८४ बीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा चितवन जिल्लाको भरतपुर महानगरपालिका र लामिटारबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा २१ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल भदौ १७ गते हुनेछ । २०७२ सालको भूकम्पमा परेर निधन भएको राना मगरको स्मरण गर्नका लागि क्लबले यस वर्षबाट प्रतियोगिताको अयोजना गर्न सुरु गरेको हो । प्रतियोगिताका लागि प्रथम पुरस्कारको प्रायोजन स्वर्गीय जोनका दाजु जकै राना मगरले गर्नुभएको छ भने द्वितीय पुरस्कारको प्रायोजन सुनाचुरी सामुदायिक वन उपभोक्ता समूहले गरेको बताइएको छ । प्रतियोगिताको उपाधि विजेता टिमले ३० हजार रुपैयाँको नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
सयपत्री क्लबका अध्यक्ष सुरज श्रेष्ठको सभाध्यक्षमा तथा गाउँपालिकाका ६ नम्बर वडाध्यक्ष युवराज थपलियाको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन कार्यक्रम भएको हो । प्रतियोगिताको उद्घाटन गर्नुहुँदै वडाध्यक्ष थपलियाले खेलमा हार जीत हुने भएको कारणले त्यसलाई स्वीकार गरेर नकारात्मक क्रियाकलाप नगर्न आग्रह गर्नुभयो । उहाँले विभिन्न ठाउँहरुबाट आएका खेलाडीहरुलाई आफ्नो क्लबलाई उच्च देखाउनका लागि अनुशासनको पालना गर्न आग्रह गर्नुभयो । उद्घाटन कार्यक्रममा पालिका खेलकुद विकास समितिका संयोजक विरु लामा थिङ, खेल संयोजक केदार योञ्जन लगायत विभिन्न संघ संस्थामा आवद्ध भएका पदाधिकारीहरुको आतिथ्य रहेको थियो ।