राजश्वको दर साविककै कायम राख्ने गरी सहमति सामूहिक तस्वीर खिचाउँदै हेटौँडा उपमहानगरपालिकाका पदाधिकारी र व्यवसायी । फाइल तस्वीर ।

हेटौँडाः आन्दोलनरत व्यवसायीको माग पूरा गर्न हेटौँडा उपमहानगरपालिका सहमत भएको छ । शुक्रबार नगरप्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँसहित उपमहानगरका अधिकारी र व्यवसायीबीच भएको वार्तामा व्यवसायीका सबै माग पूरा गर्न उपमहानगरपालिका तयार भएको हो । शुक्रबार दिनको ४ बजेबाट हेटौँडा उपमहानगरपालिकामै भएको वार्ता साँझ साढे ८ बजे आन्दोलनरत व्यवसायी र हेटौँडा उपमहानगरपालिकाबीच ८ बुँदे सहमति भएसँगै आन्दोलनका सबै कार्यक्रम स्थगित गर्न व्यवसायी सहमत भएका छन् ।

हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि वृद्धि गरेको राजश्वको दर खारेज गरी गत आर्थिक वर्षकै राजश्व दर कायम गर्न सहमत भएको छ । व्यवसायीको मागको सम्बोधन गर्न आवश्यक प्रस्ताव तयार गरी नगरसभामा पेश गर्न हेटौँडा उपमहानगर सहमत भएको छ । व्यवसायीको मागअनुसार विज्ञापन कर कार्यान्वयनका लागि मकवानपुर उद्योग वाणिज्य संघसहितको सहभागितामा अध्ययन समिति गठन गरी नगरपालिका समक्ष पेश गर्ने निर्णय भएको छ ।

उपमहानगरले विकास निर्माणको कार्यहरु गर्ने, गराउने सन्दर्भमा निर्माण व्यवसायी संघसँग समन्वय गरी निर्माणको प्रकृति समेतका आधारमा थ्रेसहोल्ड कायम गरी लैजान नगरपालिका समक्ष पेश गर्ने सहमति भएको छ । हेटौँडाका होटल व्यवसाय मध्यरातसम्म सञ्चालनका लागि सम्बन्धित निकायसँग समन्वय र सहजीकरण गर्ने र वर्गीकरणको मापदण्ड तयार पार्ने, निर्माण व्यवसायीले तिरिसकेको भ्याट रकम बक्यौता देखिएको विषयमा आन्तरिक राजश्व कार्यालय, राजश्व विभाग र महालेखा परीक्षकको कार्यालयमा समन्वय गरी यथाशिघ्र समस्या समाधान गर्न उपमहानगर सहमत भएको छ ।

बहालकर वर्गीकरण गरी घरधनी स्वयम्ले भुक्तान गर्ने सम्बन्धमा घरधनीहरुको विवरण तयार गरी बहालकरलाई सम्पत्तिकरसँग एकीकृत गर्ने प्रक्रिया प्रारम्भ गर्ने, राजश्व परामर्श समितिमा छलफल हुने विषयसँग सम्बन्धित विज्ञलाई आमन्त्रित गर्ने सहमति भएको छ । व्यवसायीका सबै मागलाई सम्बोधन गरेसँगै व्यवसायीले आन्दोलनका कार्यक्रम स्थगित गर्ने निर्णय भएको छ ।

व्यवसायीका जायज मागलाई उपमहानगरले सम्बोधन गर्न बाध्य भएको जानकारी दिनुहुँदै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले धन्यवाद व्यक्त गर्नुभएको छ । आन्दोलनमा सहयोग गर्ने सबैप्रति उहाँले धन्यवाद ज्ञापन गर्नुभएको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ताको नेतृत्वमा व्यवसायीको तर्फबाट निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेल, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्षद्वय उज्वल चौलागाई र राजु अधिकारी, कोषाध्यक्ष सन्तोष अर्याल, राजश्व परामर्श समिति संयोजक प्रदीप अर्याल र होटल एसोसिएसन मकवानपुरका उपाध्यक्ष कल्याण पौडेल सहभागी हुनुहुन्थ्यो ।

वार्तामा हेटौँडा उपमहानगरपालिकाको तर्फबाट प्रमुख मीना कुमारी लामा, उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम, प्रवक्ता सविन न्यौपाने, ८ नम्बर वडा अध्यक्ष रामकृष्ण थापा, कानुनी सल्लाहकार ईश्वरराज ढकाल, विज्ञ सल्लाहकार कृष्ण धिताल, वित्त व्यवस्थापन महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिना, कानुन शाखा प्रमुख लक्ष्मण मैनाली, राजश्व व्यवस्थापन शाखा प्रमुख मनोज सुवेदी र जगन्नाथ सापकोटाको सहभागिता रहेको थियो ।
हेटौँडा उपमहानगरपालिका र व्यवसायीबीच भएको सहमतिको दस्तावेज ।

Hetauda