हेटौंडा क्याम्पस प्रमुख देवीराम लामालाई शुल्कको दर वृद्धि गरेको विषयमा ध्यानाकर्ष्णपत्र बुझाउदाको तस्वीर ।

हेटौंडाः हेटौंडा–४ स्थित हेटौंडा क्याम्पसले क्याम्पसको शुल्कवृद्धि गरेको भन्दै ध्यानाकर्षणपत्र बुझाइएको छ । बिहीबार नेपाल विद्यार्थी संघ (नेविसंघ) क्याम्पस कमिटीका अध्यक्ष युवराज विश्वकर्माले विद्यार्थीहरुलाई ठूलो मर्का पर्ने गरी विभिन्न शीर्षकमा शुल्क वृद्धि गरिएको भन्दै क्याम्पस प्रमुख देवीराम लामालाई ध्यानाकर्षणपत्र बुझाएको हो ।

आर्थिक मन्दी र क्याम्पसको गतिविधिबाट विद्यार्थीहरुले पढाइप्रति वितृष्णा व्यक्त गरिरहेको समयमा नेविसंघले दिएको चेतावनी र गरेको विरोधपश्चात् पनि क्याम्पस प्रशासनद्वारा शुल्क वृद्धि गरेको आरोप छ । एक हजार रुपैयाँ मासिक शुल्कमा ४ सय वृद्धि गरी १ हजार ४ सय बनाएको हुँदा नेविसंघले आपत्ति जनाएको हो ।

शुल्क रकम बढाएका कारणले विद्यार्थीहरुको शिक्षामा समेत नकारात्मक असर पर्ने नेविसंघ क्याम्पस कमिटी अध्यक्ष अध्यक्ष विश्वकर्माले बताउनुभयो । मकवानपुर जिल्लाको आसपाको क्षेत्रमा परिचित हेटौंडा क्याम्पसले सम्पूर्ण विद्यार्थीको सपना र भविष्यमाथि प्रहार गरेको उहाँले बताउनुभयो । शुल्कवृद्धिको निर्णयलाई फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।