हेटौंडाः छिमेकी मुलुक भारतको सिक्किममा जारी ७८ औं संस्करणको इन्डिपेन्डेन्ट डे फुटबल प्रतियोगिताको फाइनल खेल आज बिहीबार हुँदैछ । फाइनल खेलमा मकवानपुरको हेटौंडा फुटबल एकेडेमी र वेष्ट बंगालको बरमेक क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुबै टिम जीतको लक्ष्य लिएर उपाधि होडका साथ मैदानमा उत्रनेछन् ।
सिक्किमस्थित मुनसुङ खेल मैदानमा हुने प्रतियोगिताको फाइनल खेल दिउँसो २ बजेबाट सुरु हुनेछ । फाइनलमा पुगेको हेटौंडा फुटबल एकेडेमीले उपाधि जितेर नेपाललाई चिनाउने लक्ष्य लिएको छ । ७७ औं संस्करणको प्रतियोगिताको उपविजेता बनेको एकेडेमीले यसवर्षको प्रतियोगितामा उपाधि उचालेरै छाड्ने योजना बनाएको क्लबका प्रशिक्षक तथा अध्यक्ष भीम लामाले जानकारी दिनुभयो । खेलाडीहरुलाई राम्ररी प्रशिक्षण दिएका कारण फाइनलसम्मको यात्रा पूरा गरेको र उपाधि जित्ने विश्वास रहेको प्रशिक्षक लामाले दावी गर्नुभयो ।
आइतबार भएको पहिलो सेमिफाइनल खेलमा भारतको मामरिङ सिक्किम क्लबलाई २–१ गोलले हराउँदै हेटौंडा फुटबल एकेडेमीले फाइनलको यात्रा पूरा गरेको हो । बुधबार भएको अन्तिम सेमिफाइनल खेलमा कालेबुङ एकेडेमीलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै बरमेक क्लबले फाइनल यात्रा पूरा गरेको हो ।
मुरमोसङ चिङ्चोक युथ क्लबको आयोजनामा गत अगष्ट १ गेतबाट सुरु भएको प्रतियोगितामा १९ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा नेपालबाट हेटौंडा फुटबल एकेडेमी मात्र सहभागी रहेको छ । प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँ र उपविजेता टिमले ६० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।