पत्रकार सम्मेलनको क्रममा खिचिएको तस्वीर ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ लाई आगामी शनिबार बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै वडाले बालमैत्री घोषणा कार्यक्रमका लागि तयारी पूरा भएको जनाएको हो ।

हेटौंडा–७ का वडाध्यक्ष एवम् बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा मुल समारोह समितिका संयोजक दामोदर गौतमले वडाले बालमैत्री स्थानीय शासन अभियान सञ्चालन गरी विभिन्न चरण पार गरेको बताउनुभएको छ । वडाले बालमैत्री घोषणाका लागि आवश्यक ५१ सूचकमध्ये ४६ वटा सूचक एक सय प्रतिशत पूरा गरेको छ भने बाँकी केही प्रतिशतमात्र पूरा हुन बाँकी छ । वडाले ५१ वटा सूचकमा ९९.७३ प्रतिशत नतिजा हासिल गरेको बताइएको छ ।

वडाभित्र १ हजार ८ सय ९८ जना बालबालिका रहेकोमा वडालाई निकृष्ट बालश्रममुक्त, बाल विवाहमुक्त तथ बालमैत्री स्थानीय शासनयुक्त बनाउन सफल भएको अध्यक्ष गौतमले बताउनुभयो । बालबालिकाको सुन्दर भविष्य निर्माणमा घरपरिवारको साथै वडाको ठूलो जिम्मेवारी र दायित्व हुने भन्दै उहाँले बालबालिकाको क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले बालमैत्री घोषणा भइसकेपछि यसलाई दिगोपनाका लागि वडाले नीति बनाएको बताउनुभयो ।

यस्तै, हेटौंडा उपमहानगरपालिकाकी महिला, बालबालिका तथा समावेशीकरण महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेले नगरपालिकाले बालमैत्री शासन घोषणालाई दिगोपनाका लागि रणनीतिक योजना बनाएको बताउनुभएको छ । उहाँले वडा नम्बर ७ लाई बालमैत्री घोषणामा वडा बाल सहजकर्ताहरुको महत्वपूर्ण योगदान रहेको भन्दै धन्यवाद दिनुभयो ।

उपमहानगरपालिकाले २०७९ सालमा वडा बाल सहजकर्ता नियुक्त गरेर बालमैत्री तयारीका लागि अभियान थालेको थियो । २०७९ साल फागुन २ गते वडामा बाल सहजकर्ताको रुपमा नियुक्त भएर महत्वपूर्ण भूमिका खेल्ने गोकर्ण लामालाई उहाँले धन्यवाद दिनुभयो । लामाले एक वर्ष वडा बालसहजकर्ताको रुपमा महत्वपूर्ण काम गरेर विदेश पलायन हुनुभएको उहाँले बताउनुभयो । लामाको स्थानमा विवेक अधिकारीलाई नियुक्त गरेर वडाले बालमैत्री घोषणा तयारीको कामलाई निरन्तरता दिएको थियो ।

प्रमुख लामिछानेले नगरभित्रका अन्य वडाहरुमा पनि बालमैत्री घोषणाको तयारी भइरहेको बताउनुभएको छ । उहाँका अनुसार हेटौंडा–१७ र १० बालमैत्री शासनयुक्त वडा घोषणाका लागि तयारीमा छन् । बालमैत्री घोषणा कार्यक्रम शनिबार बिहान १० बजे वडा कार्यालयबाट प्रभातफेरी गरी नवज्योति माविको प्राङ्गणमा हुने जनाइएको छ ।