हेटौँडा उपमहानगरले राजश्व वृद्धि गरेको विरोधमा गरिने कार्यक्रम तय गर्न बसेको बैठकमा सहभागीहरु ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले अस्वभाविकरुपमा चर्को दरमा राजश्व वृद्धि गरेको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले पाँच दिने आन्दोलनको कार्यक्रम तय गरेको छ । आइतबार साँझ बसेको कार्यसमिति बैठकले सोमबारदेखि पाँच दिनका लागि संघर्षका कार्यक्रम तय गरेको हो ।

आन्दोलनका कार्यक्रमअन्तर्गत उद्योग वाणिज्य संघले उपमहानगरपालिका कार्यालयमा धर्ना दिनेदेखि व्यवसाय बन्द गरेर चाबी उपमहानगरपालिकालाई बुझाउनेसम्मका कार्यक्रम तय गरेको छ । पाँच दिने संघर्षका कार्यक्रमसँगै उद्योग वाणिज्य संघले व्यवसायीहरुको तर्फबाट सामूहिक रुपमा उपमहानगरपालिका विरुद्ध सामूहिक मुद्दा समेत दर्ता गराउने निर्णय गरेको छ ।

पाँच दिने कार्यक्रमअन्तर्गत पहिलो दिन सोमबार बिहान राजनीतिक दलका भातृ संगठन र सहकारी संस्थाका प्रतिनिधिहरुसँग छलफल गर्नेछ । सोमबार दिउँसो १२ बजे व्यापारीको भेला आयोजना गर्नुका साथै दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर आन्दोलनको औचित्य, संघको धारणा र संघर्षका कार्यक्रमबारे जानकारी गराउने बताइएको छ ।

दोस्रो दिन मंगलबार कर अवज्ञा गर्न व्यवसायी र नगरवासीलाई आव्हान गर्न सुरु गर्ने, विभिन्न संघ, संस्था, प्रदेश सरकार, राजनीतिक दललाई ज्ञापनपत्र बुझाउनुका साथै विभिन्न क्षेत्रका प्रतिनिधिसँग अन्तरक्रियाको कार्यक्रम तय गरिएको मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष उज्ज्वल चौलागाईले जानकारी दिनुभएको छ ।

तेस्रो दिन बुधबार हेटौँडा बजारको बुद्धचोकसँगै विभिन्न स्थानमा राजश्व वृद्धिको निर्णय विरुद्ध हस्ताक्षर संकलन गर्ने, हेटौँडा उपमहानगरपालिकामा १ घण्टा धर्ना दिने, राजश्व वृद्धिको विरोधमा विभिन्न स्थानमा कालो व्यानर राख्ने निर्णय गरेको छ । चौथो दिन बिहिबार हेटौँडा उपमहानगरपालिकामा २ घण्टा धर्ना दिने, नगर सरकार खोज्दै मैनबत्ती जुलुस गर्ने उपाध्यक्ष चौलागाईले जानकारी दिनुभयो ।

संघर्षको कार्यक्रमअन्तर्गत पाँचौं दिन शुक्रबार ¥यालीसहित व्यापार व्यवसाय बन्द गरी हेटौँडा उपमहानगरपालिकामा चावी बुझाएर पहिलो चरणको आन्दोलनको कार्यक्रम समापन गर्ने बताइएको छ । बैठकमा सहभागी संघका उपाध्यक्ष प्रमोदसिंह रानाभाटले निर्माण व्यवसायी संघसहित सबै सरोकारवालासँग एकतावद्ध भएर आन्दोलनका कार्यक्रम अगाडि बढाउने निर्णय भएको बताउनुभयो ।

आइतबार साँझ संघको कार्यसमितिको बैठक बसेर आन्दोलनका कार्यक्रम तय गर्नुअघि हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत समक्ष राजश्व वृद्धिको प्रक्रियामा गरिएका निर्णयको प्रतिलिपि समेत माग गरिएको छ । उपमहानगरपालिकाको कार्यपालिका सदस्य, नगर सभा सदस्य र राजश्व परामर्श समितिका सदस्य समेतले राजश्व वृद्धिको प्रस्ताव, छलफल र निर्णय नभएको भनी स्पष्ट पारिरहेको सन्दर्भमा मकवानपुर उद्योग वाणिज्य संघले उपमहानगरपालिकासँग प्रक्रियागत निर्णयहरुको प्रतिलिपि माग गरेको हो ।