Home मुख्य समाचार शिक्षा प्रदेश सरकारको प्राथमिकताको क्षेत्र होः मन्त्री खड्गी

शिक्षा प्रदेश सरकारको प्राथमिकताको क्षेत्र होः मन्त्री खड्गी

बागमती प्रदेशकी सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी

हेटौंडाः बागमती प्रदेशकी सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले एसईईको पूरक (ग्रेडवृद्धि) परीक्षा भइरहेका केन्द्रहरुको निरीक्षण तथा अनुगमन गर्नुभएको छ । बुधबारबाट सुरु भएको एसईईको ग्रेडवृद्धि परीक्षा सञ्चालन भइरहेका बखत मन्त्री खड्गीले काठमाडौं, भक्तपुर र ललितपुरका ४ विद्यालयमा अनुगमन तथा निरीक्षण गर्नुभएको हो ।

निरीक्षणको क्रममा उहाँले विद्यालयको भौतिक तथा शैक्षिक अवस्थाको समेत अवलोकन गर्नुभएको छ । उहाँले सम्बन्धित विद्यालयका व्यवस्थापन समिति, प्रधानाध्यापक तथा शिक्षक र कर्मचारीहरुसँग अन्तरक्रियासमेत गर्नुभएको थियो ।

मन्त्री खड्गीले शिक्षा क्षेत्रको विकासलाई प्रदेश सरकारले प्राथमिकताका साथ अघि बढाएको र शिक्षाको गुणस्तर सुधार तथ विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले निरीक्षण गरेको बताउनुभयो । सामुदायिक विद्यालयको स्तर सुधार गर्ने र नतिजामुखी शिक्षण सिकाइको अवधारणाअनुसार काम गर्ने निर्देशन मन्त्री खड्गीले दिनुभएको छ ।

निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको नतिजा खस्कनुको कारणसहित गुणस्तर सुधारका लागि योजना निर्माण गरेर मन्त्रालयमा पेश गर्न उहाँले विद्यालयहरुलाई निर्देशन दिनुभएको छ । प्रदेश सरकार शिक्षाको विकास र विद्यार्थीहरुको भविष्यप्रति गम्भीर भएर अघि बढेको उहाँको भनाइ छ ।

उहाँका अनुसार निजी विद्यालयले कम स्रोतमा पनि उत्कृष्ट नतिजा हासिल गर्न सक्ने तर, सामुदायिक विद्यालयमा पारिश्रमिक तथा अन्य स्रोत पर्याप्त हुँदा पनि नसक्नुको अवस्थाका विषयमा सबै पक्षले ध्यान दिनुपर्ने हुन्छ । गुणस्तरीय शिक्षा दिने विषयमा सम्बन्धित विद्यालयका शिक्षकहरुले नै अपनत्व लिएर अभिभावकत्व बहन गर्नुपर्ने उहाँको भनाइ छ । पठनपाठनको प्रवृत्ति सुधार गरेर काम गर्न र विद्यार्थीको भविष्यमाथि खेलवाड नगर्न उहाँले निर्देशन दिनुभयो ।

अनुगमनका क्रममा विद्यालयका प्रधानाध्यापकहरुले शिक्षकहरुको क्षमता विकास, तालिम तथा प्रविधिको प्रयोग तथा सुविधायुक्त ल्याब र भौतिक संरचना निर्माण गर्नुपर्ने आवश्यकता रहेकाले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताएका थिए । अनुगमन टोलीमा प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, शिक्षा निर्देशनालय बागमती प्रदेशका महानिर्देशक दीपेन्द्र सुवेदीलगायतको सहभागिता रहेको थियो ।

Exit mobile version