Home खेलकुद विश्वकप लिग–२ः मकवानपुरका ढकाल बन्द प्रशिक्षणमा

विश्वकप लिग–२ः मकवानपुरका ढकाल बन्द प्रशिक्षणमा

रिजन ढकाल

हेटौँडाः नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत आगामी सेप्टेम्बरमा क्यानडामा हुने त्रिकोणात्मक सिरिजका लागि बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडीको नाम घोषणा गरेको छ । क्यानले आइतबार घरेलु टोलीसँगै नेपाल र ओमानबीच हुने सिरिजका लागि २२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।

क्यानले बन्द प्रशिक्षणमा बोलाएको २२ खेलाडीमा मकवानपुरका रिजन ढकाल परेका छन् । गत वर्ष क्यानडासँगको पहिलो एक दिवसीय क्रिकेटमा राष्ट्रिय टिमबाट डेब्यु गरेका ढकाल यस पटक पनि टिमको बन्द प्रशिक्षणमा पर्न सफल भएको हो । बायाँ हाते बलर ढकालले क्यानाडासँगको खेलमा करियर पहिलो अन्तर्राष्ट्रिय विकेट लिएर उत्कृष्ट प्रदर्शनसमेत गरेका थिए । नेपाल ‘ए’ टिमका नियमित सदस्य ढकाल अहिले क्यानको तेस्रो ग्रेडको खेलाडी हुन् । अहिले टिममा बायाँ हाते बलरको अभावमा ढकाल विकल्प हुन सक्ने अनुमान गरिएको छ । ढकालले यसअघि यु–१६ र यु–१९ राष्ट्रिय टिमबाट क्रिकेट खेलिसकेका छन् ।

क्यानले रोहितकुमार पौडेलको कप्तानीमा २२ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । बन्द प्रशिक्षणमा पर्नेहरुमा कुशल भुर्तेल, आसिफ शेख, अनिलकुमार साह, देव खनाल, करण केसी, गुल्शनकुमार झा, कमलसिंह ऐरी, सन्दीप लामिछाने, भीम सार्की, ललित नारायण राजवंशी, आरिफ शेख, सूर्य तामाङ, कुशल मल्ल, बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, आकाश चन्द, अर्जुन साउद, सागर ढकाल, सोमपाल कामी र सन्दीप जोरा रहेका छन् । नेपालले लिग–२ को दोस्रो सिरिज खेल्न लागेको हो । यसअघि नेपालले घरेलु मैदानमा नेदरल्यान्ड्स र नामिबियाविरुद्धको सिरिज खेलेको थियो । नेपालले एक खेल जितेको थियो भने तीनमा पराजय बेहोरेको थियो ।

Exit mobile version