Home विचार विद्यालय स्वास्थ्यमा सरोकारवालाको भूमिका

विद्यालय स्वास्थ्यमा सरोकारवालाको भूमिका

हरेक बालबालिकाका लागि आफ्नो घर पहिलो पाठशाला हो भने आमा–बाबु (अभिभावक) प्रथम शिक्षक हुन् । जब बालबालिकाहरु साना÷ कलिला अवस्थाका हुन्छन् । उनीहरुको समग्र वृद्धि–विकासका लागि माया, स्वच्छ वातावरण, स्वस्थ तथा सन्तुलित भोजन, खेलकुद, व्यायाम, आराम, खोप, मनोरञ्जन आदि सबै कुराहरुको बारेमा ख्याल राख्नु परिवारको मुख्य भूमिकामा पर्न आउँछ । खासगरी विकसित मुलुकहरुमा हरेक दम्पतिलाई विवाह पूर्व नै असल अभिभावकत्वका विषयमा परामर्श सेवा प्रदान गरिन्छ । तर, हाम्रो देश नेपालमा यस प्रकारको प्रणालीको विकास भइसकेको छैन । साथै बच्चा जन्मिई सकेपछि कस्ता–कस्ता चिजहरुमा ध्यान दिनु पर्छ भन्ने कुराको पनि कमै अभिभावकहरुलाई थाहा छ । धेरै जसो नयाँ बाबु–आमाले त आफ्ना बच्चाको हेरचाह सम्बन्धी ज्ञान, जानकारी र सीप आफ्ना आमा, सासु, दिदी, जेठानी, भाउजु, आमाजू अथवा समुदायमा भएका जान्ने बुझ्नेहरुसँग प्राप्त गर्ने गरेको पाइन्छ । आजभोलि सामाजिक सञ्जाल, रेडियो, टिभी तथा अनलाइन, पत्रपत्रिकाबाट स्वास्थ्य सम्बन्धी जानकारी प्राप्त हुने गरेका छन् भने कतिपय समयमा यस्ता सूचनाहरु मात्र पर्याप्त नहुने, सही पनि नुहुने हुन्छन् ।

बच्चाहरुको दोश्रो घर भनेको उनिहरुको विद्यालय हो जहाँ उनीको ८ देखि १२ घण्टा दैनिक बित्ने गर्छ । पहिला–पहिलाको चलनमा बच्चाहरुलाई ६ वर्ष पुगेपछि मात्रै विद्यालय पठाउने गरिन्थ्यो तर आजकाल बच्चा तोते बोली बोल्दै गर्दा आमा–बाबु वा अन्य व्यक्तिहरुले पिठ्युँमा बोकेरै भए पनि विद्यालय पठाउने गरेका छन् । हिजोका दिन भन्दा आजभोलि अभिभावक धेरै व्यस्त भएका छन् । बालबच्चाको भरण–पोषण निक्कै चुनौतिपूर्ण बन्दै गएको छ । त्यसैले बच्चालाई कलिलै (अत्यन्तै) उमेरमा स्कुल पठाउनु पर्ने बाध्यता छ भने अर्कातर्फ धेरैजसो बाबु–आमाले एउटामात्र बच्चा जन्माउने प्रचलन पनि बढ्दै गएको छ । जसका कारण घरमा बच्चा एक्लै हुने र खेल्ने साथीहरु पनि नपाउने हुँदा प्रि–स्कुल, बालविकास केन्द्रहरुमा साथीहरु पनि प्रसस्त हुने, खेल्ने, पढ्न, रमाउन र सिक्न पनि पाउने हुन्छन् । यसले उनीहरुका समग्र विकासका लागि सहयोग पनि पुर्याउन सक्छ । अर्कोतर्फ अत्यन्तै फस्टाएको व्यापार मध्ये निजी विद्यालय संचालन पनि एक पर्दछ भन्नुमा अतिसयुक्ति नहोला । सरकारी विद्यालयहरु (केही बाहेक) अधिकांशमा न्युन आयस्तर भएका अभिभावकका बच्चाहरु अध्ययन गर्न जाने र कतिपय विद्यालयमा त विद्यार्थी भन्दा शिक्षकको संख्या बढी भएको पनि सुन्नमा र देख्नमा आएको छ ।

सरकारले विद्यालय शिक्षालाई स्तरवृद्धि गर्दै लैजाने क्रममा केहि सरकारी विद्यालयहरुमा विद्यालय नर्सहरु पनि प्रावधान गरेको छ भने अधिकांश विद्यालय (सरकारी वा निजी) हरुमा त्यो व्यवस्था हुन सकेको पनि छैन अधिकांश (नाम चलेका वाहेक) निजी विद्यालयहरु प्रचारका लागि मात्र स्थापना भएका छन् । उनीहरुले भौतिक पूर्वाधारहरुमा खासै ध्यान पुर्याएको देखिँदैन । कक्षा–कोठा भित्र पर्याप्त हावा ओहोर–दोहोर नहुने अँध्यारो, ओसिलो छिडी जस्ता कक्षा कोठामा निकै सकसपूर्ण तरिकाले अध्यापन गराउने गरेको पनि भेटिन्छन् ।

धेरैजसो विद्यालयमा शौचालय र खानेपानी साथै सरसफाई पनि निकै दयनीय अवस्थामा रहेको देख्न सकिन्छ । यसमा विद्यालय व्यवस्थापनले विशेष ध्यानदिनु पर्ने देखिन्छ । हरेक विद्यालयमा स्वास्थ्य सम्बन्धी हेरचाह, निगरानी गर्ने इकाई हुनु अत्यन्त जरुरी हुन्छ । गर्मीयाममा धेरैजसो बालबालिकाहरु विरामी पर्ने गरेका भेटिन्छन् । खासगरी सरसफाइको कमि र पानीजन्य, खाद्यजन्य र स्वासप्रश्वास सम्बन्धी रोगबाट धेरै बच्चाहरु आक्रान्त भएको देखिन्छ । दुषित् खाना तथा पानीबाट विभिन्न रोगहरुमा जस्तै झाडा–पखला, आउँ, हैजा, टाइफाईड, जण्डिस जस्ता रोगहरुबाट पीडित हुने गरेका छन् । रुघाखोकी, दादुरा, ठेउला, घाउ, खटिरा र छालाका अन्य रोगहरु पनि लाग्ने गर्दछ । बच्चाहरुमा कुपोषणको समस्याहरु पनि निक्कै देखा परेका छन् । खासगरी मोटोपना शहरी विद्यालयहरुमा, पुड्को, आँखाको समस्या आदि ।

बच्चाहरु विरामी पर्दा खासगरी सरुवा रोग लागेको अवस्थामा घरमै राखी हेरचाह गर्नु जरुरी हुन्छ । किनभने बिरामी बच्चालाई रोग लाग्दा कमजोर पनि भएको हुने, राम्रोसँग खाना नखाने, सिकाइमा पनि असर परिरहेको हुन्छ, भने उक्त रोगी बच्चाहरुले अन्य निरोगी बच्चाहरुलाई, हेरालुहरुलाई तथा शिक्षक, कर्मचारीहलाई रोग सार्न सक्ने र त्यसपछि उनीहरुले परिवारका अन्य सदस्यहरुलाई पनि रोग सार्न सक्छन् । फलस्वरुप उक्त बच्चा, अन्य बच्चा, शिक्षक, कर्मचारी तथा उनीहरुका घर परिवारमा रोग फैलिन गई समाज नै रोगी बन्न सक्छन् । यसले व्यक्तिगत तथा राज्यलाई नै बिरामीको भार थपिरहेको छ ।

त्यसैले राज्यको नीति निर्माण तहदेखि नीति नियम लागु गराउने निकाय समेतले विद्यालय स्वास्थ्यमा ध्यान पुर्याउनु पर्ने जरुरी देखिएको छ । बेलाबखत स्थानीय सरकारले शिक्षकहरुसँग अन्तक्रिया गर्ने, अनुगमन तथा सुपेरीवेक्षण गर्ने, स्थानीय स्रोत साधनको सदुपयोग गर्ने, खानेपानी, सरसफाईको राम्रो व्यवस्था र्ने विद्यालयको वातावरण स्वच्छ राख्ने, पूर्ण खोप निश्चित गर्ने, शिक्षक तथा अभिभावकको क्षमता अभिवृद्धि गर्ने, ठूला विद्यार्थीलाई आफ्नो तथा साना भाइबहिनीलाई स्वास्थ्यको ख्याल कसरी राख्ने भन्ने जस्ता ज्ञान, सीप तथा व्यवहार परिवर्तन गर्ने तालिम, अभिमुखीकरण आदि गर्न सकिन्छ । (मिश्र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीन हुनुहुन्छ ।)

Exit mobile version