Home मुख्य समाचार काठमाडौं म्याराथनका लागि हेटौंडामा प्रशिक्षण

काठमाडौं म्याराथनका लागि हेटौंडामा प्रशिक्षण

हेटौंडाः काठमाडौं महानगरपालिकाको दशरथ रंगशालमा हुन लागेको १६ औं काठमाडौं म्याराथन प्रतियोगिताका लागि ४६ जना खेलाडीहरु किकफिट सर्किट प्रशिक्षणमा सहभागी भएका छन् । आगामी असोज महिनाको १२ गतेबाट सुरु हुने काठमाडौं म्याराथन प्रतियोगितामा सहभागी हुने हेटौंडा उपमहानगरपालिका भित्रका ४६ जना खेलाडीहरु निःशुल्क किकफिट प्रशिक्षणमा सहभागी भएका हुन् । प्रशिक्षणमा सहभागी भएका खेलाडीहरुलाई मुख्य प्रशिक्षक राजाराम पोखरेलले प्रशिक्षण दिइरहनुभएको छ । प्रशिक्षक पोखरेलले साँझ साढे ५ बजेदेखि साढे ६ बजेसम्म प्रशिक्षण दिने गरेको बताउनुभयो ।

प्रशिक्षणमा सहभागी खेलाडीहरुलाई साताको ५ दिन प्रशिक्षण दिने र शनिबार हेटौंडाको क्याम्पाडाँडामा दौडाउने गरेको उहाँले बताउनुभयो । असार महिनाबाट सुरु गरेको किकफिट प्रशिक्षणमा हेटौंडा नगरभित्रका ५० जना खेलाडीहरु सहभागी भएका थिए । अहिले ४ जना खेलाडीहरु प्रशिक्षणमा सहभागी नभएको प्रशिक्षक पोखरेलले बताउनुभयो । प्रशिक्षणमा ३६ जना छात्रा र १० जना छात्र खेलाडीहरु सहभागी हुने गरेको उहाँले बताउनुभयो ।

भदौ महिनासम्म सञ्चालन हुने प्रशिक्षणमा ४६ जना खेलाडीहरुबाट २० जनालाई छनोट गरेर काठमाडौं पठाइने उहाँले बताउनुभयो । उहाँका अनुसार खेलाडीहरुले राम्रो प्रतिभा प्रस्तुत गरेमा र रुचि देखाएमा सहभागी सबै खेलाडीलाई छनोट गरेर काठमाडौं पठाइने पनि योजना रहेको छ ।

एनआरएस स्पोर्टस् फाउण्डेसनको आयोजना तथा इन्ड्राइभको सहकार्यमा हरेक वर्ष १२ वर्षभन्दा अधिक उमेर समूहका खेलाडीहरुलाई लक्षित गरेर प्रतियोगिताको आयोजना गर्ने गरेको उहाँले बताउनुभयो । खेलप्रति रुचि भएका र धावक बन्न इच्छा भएका खेलाडीहरुलाई लक्षित गरेर नेपालको ८ वटा सहरहरुमा किकफिट प्रशिक्षण सञ्चालन हुने गरेको छ । जसअन्तर्गत हेटौंडाका खेलाडीलाई प्रतियोगितामा सहभागी गराउनका लागि पोखरेलले नेतृत्व गरेर प्रशिक्षण दिइरहनु भएको हो ।

नेपालको काठमाडौं, पोखरा र पाटन महानगरपालिका, बुटवल र हेटौंडा उपमहानगरपालिका एवम् मध्यपुर थिमी र कीर्तिपुर नगरपालिकाका छात्रा र छात्र खेलाडीहरुको प्रतियोगितामा सहभागिता रहनेछ । गतवर्ष भएको १५ औं संस्करणको म्याराथन प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाबाट १५ जना खेलाडीहरु सहभागी भएका थिए । प्रतियोगितामा १३ जना छात्रा र २ जना छात्र खेलाडीहरु सहभागी भएको बताइएको छ ।

साताको ५ दिन सञ्चालन हुने प्रशिक्षणमा बालबालिका एवम् धावकलाई सम्भावित चोटपटकबाट बच्नका लागि सिकाउने गरिएको छ । प्रशिक्षणको माध्यमबाट खेलाडीहरुको मनोबल बढ्ने, स्वस्थ हुने, आत्मबल बढ्ने, प्रतिस्पर्धा गर्न सक्ने क्षमता बढ्ने तथा विभिन्न प्रकारको नकारात्मक कामबाट बच्ने प्रशिक्षक पोखरेलले विश्वास व्यक्त गर्नुभएको छ ।

Exit mobile version