Home अन्तरवार्ता राम्रो, दक्ष शिक्षक उत्पादन होस् भन्नका लागि तालिमको आयोजना गर्दैछौं

राम्रो, दक्ष शिक्षक उत्पादन होस् भन्नका लागि तालिमको आयोजना गर्दैछौं

रमिता दर्लामी, शिक्षक प्रशिक्षक नवोदय इनोभेसन सेन्टर

हेटौँडा–४ स्थित नवोदय शिशु सदन माविले नवोदय इनोभेसन सेन्टर स्थापना गरेर शिक्षकका लागि प्रशिक्षण कार्यक्रम सञ्चालनको तयारी गरिरहेको छ । यही साउन १६ गतेबाट पहिलो चरणको शिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालनको तयारी भइरहेको छ । शिक्षण पेशामा दक्ष जनशक्ति तयार पार्ने उद्देश्यले नवोदय शिशु सदन माविले नवोदय इनोभेसन सेन्टर नै स्थापना गरेर एक वर्षे शिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ । एक वर्षे शिक्षक प्रशिक्षण कार्यक्रमको सन्दर्भमा हामीले नवोदय इनोभेसन सेन्टरकी शिक्षक प्रशिक्षक रमिता दर्लामीसँग सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः

समाजः विद्यार्थीको नियमित गतिविधिहरु र सिक्ने सिकाउने प्रक्रिया कस्तो छ ?
दर्लामीः
नवोदयकै कुरा गर्दा हामी सिकाइमा केन्द्रीत भएर जाँदैछौं ।

समाजः तपाइँहरु शिक्षक तालिमको तयारीमा हुनुहुन्छ । शिक्षक तालिमको अवधारणाको उद्देश्य, तपाइँहरुको उद्देश्य के हो ? यसलाई कसरी तपाइँहरुले सञ्चालन गर्ने तयारी गरिरहुनुभएको छ ?
दर्लामीः
यो एकवर्षे तालिमको मुख्य उद्देश्य राम्रो शिक्षक उत्पादन गर्नु हो । हामी पाठ्यक्रममा शैक्षिक बहसहरुमा धेरै विद्यार्थीसँग कुरा गछौं । शिक्षकको बारेमा कुरा गछौं । हामीले अब खासमा राम्रो शिक्षक हुनुपर्छ भन्नेमा ध्यान दिइरहेका छौं । एक त शिक्षण क्षेत्रमा धेरै आकर्षण नभएको, विद्यालयले राम्रो शिक्षक, शिक्षा क्षेत्रमै लाग्छु भनेर आउनुभएको शिक्षकहरु एकदमै कम हुनुभएकोले उहाँहरु जस्ताका लागि एकवर्षे तालिम र कक्षा–१२ उत्तीर्ण गरेर बसेका विद्यार्थीका लागि शिक्षकहरुमा हुनुपर्ने आधारभूत विशेषताहरु प्रदान गर्न हामीले एकवर्षे डिप्लोमा कोर्षको तयारी गरेका हौं । अब यसमा हामीले पाठ्यक्रमको वेसमा रहेर, पाठ्यक्रम विकास केन्द्र (सिडीसी) को वेसमा रहेर कोर्षहरुको निर्माण गरेका छौं । हामीले जत्ति सक्दो विद्यार्थीलाई लक्षित गरेर यो तालिम सञ्चालन गरेका छौं ।

समाजः तपाइँहरुले केही समय पहिला पत्रकार सम्मेलन गरेर यो विषयमा जानकारी गराउनुभयो र कक्षा सञ्चालन गर्ने समय पनि नजिक आइसक्यो । यो तालिममा सहभागी हुनका लागि इच्छुकहरुको अकर्षण खोजी र सोधपुछ चाहिँ कस्तो पाउनुभयो ?
दर्लामीः
सबैजनाले जान्न खोज्नुभएको छ । सोधीखोजी एकदमै धेरै छ । हेटौँडामा पहिलो पटक यस किसिमको तालिम आयोजना हुँदैछ । पहिलो पटक आयोजना गरेको भएर मानिसहरुलाई विश्वास गर्न अलि समय लाग्छ होला । तर पनि राम्रो सोधपुछ भइरहेको छ ।

समाजः यो प्रशिक्षणमा नयाँलाई प्राथमिकता दिँदै हुनुहुन्छ कि ? या जो अहिले नियमित रुपमा कार्यरत स्थायी र अस्थायी करार वा अन्य विविध प्रकारका नियुक्तिमा विद्यालयहरुमा शिक्षण गरिरहनुभएका शिक्षकहरुलाई प्राथमिकता दिँदै हुनुहुन्छ ?
दर्लामीः
हाम्रो लक्ष्य भनेको नयाँलाई पनि भयो जुनसुकै विषय लिएर बस्नुहुने कक्षा १२ उत्तीर्ण गरेर बस्नु हुनेले एकवर्ष तालिममा सहभागी भएपछि एउटा क्षमतावान शिक्षक भएर निक्लनुहुन्छ । जो पढाइरहनुभएको छ उहाँहरुलाई पनि आफ्नो क्षमताको विकास गर्नुपर्ने हुन्छ । उहाँहरुलाई पनि अझै क्षमताको खाँचो हुन्छ । त्यसले गर्दा नयाँलाई त हुने नै भयो जस्ले काम गरिरहनुभएको छ उहाँका लागि पनि यो तालिम एकदमै उपयुक्त छ ।

समाजः कार्यरतहरुका लागि तालिममा सहभागी हुन मिल्नेगरी तालिमको समय कस्तो बनाउनुभएको छ ?
दर्लामीः
जो काम गरिरहनुभएको छ उहाँहरुकै लागि भनेर हामीले बिहान र साँझको दुई सिफ्टमा तालिम सञ्चालन गर्ने तयारी गरेका छौं । कलेजमा पढ्ने विद्यार्थीको सन्दर्भमा कसैको बिहान कक्षा हुन्छ त कसैको दिउँसो या साँझ हुन्छ । त्यसले गर्दा फेरी हामीले विकल्प पनि राखेका छौं, बिहान र बेलुकाको कक्षा भनेर । उहाँहरुको मिल्ने समय कुन हो त्यही अनुसार बिहान वा बेलुका तालिममा सहभागी हुन सक्ने व्यवस्था गरेका छौं ।

समाजः साँझ विद्यालयको समयपछि कक्षा सञ्चालन हुन्छ ?
दर्लामीः
साँझ विद्यालयको समयपछि कक्षा सञ्चालन हुन्छ । बिहान चाहिँ विद्यालय सुरु हुनु अघि कक्षा सकिसक्छ ।

समाजः तालिमको पाठ्यक्रममा के कुरालाई बढी जोड दिनुभएको छ तपाइँहरुले ?
दर्लामीः
यसमा हामीले शिक्षणसँगै गतिविधि जुन चाहिँ हामी गराएर सिकाउँछौं । जुन हामीले अभ्यास गरेका छौं । काम गरिरहने शिक्षकहरुलाई हामीले प्रशिक्षण दिँदा र विद्यालय घुमिरहँदा विद्यार्थी केन्द्रित भएर पठनपाठन भइरहेको पाएनौं । त्यस कुरालाई मध्यनजर गरेर तालिम सञ्चालन गर्न लागेका हौं ।

समाजः नवोदयले पछिल्लो समयमा हेटौँडामा फरक ढंगले पठनपाठनको अभ्यास गरिरहेको छ ? यो तपाइँहरुको आफ्नै अनुभवले चाहिँ शिक्षकहरुको क्षमता विकास गर्नका लागि यस्तो तालिमको आयोजना गर्दै हुनुन्छ या यसलाई नयाँ खालको व्यवसाय गर्ने हिसाबले आयोजना गरेको हो ?
दर्लामीः
हाम्रो अवश्यकता भनेको विद्यार्थी केन्द्रित शिक्षा हो । जुन चाहिँ हाम्रो पाठ्यक्रममा छ । क्रियाकलापमुखी हुनुपर्छ भनेर कति हाम्रो पाठ्यक्रम पनि निर्माण भएको छ तर त्यो कार्यान्वयनमा आएको छैन । हामीले जुन कुरा विद्यालयमा अभ्यास गरिरहेका छौं । एकस्तरमा सफल भइसकेपछि हामीले आफूले सिकेको कुरा, अभ्यास गरेको कुरा सिकाएर राम्रो, दक्ष शिक्षक उत्पादन होस् भन्नका लागि यो तालिमको आयोजना गरेका हौं ।

Exit mobile version