हेटौँडाः बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तारको विषयमा कांग्रेसभित्र चरम असन्तुष्टि देखिएको छ । कांग्रेसभित्रको असन्तुष्टिका कारण मुख्यमन्त्री बहादुर सिं लामा नेतृत्वको सरकारले पूर्णता पाउन सकेको छैन ।
बुधबार नै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरे पनि कांग्रेसभित्रको असन्तुष्टिका कारण ६ मन्त्रालयको भारी मुख्यमन्त्री लामाको काँधमा परेको छ । विभागविहीन ३ र ६ विभागीय जिम्मेवारीसहितका मन्त्री लिएर कांग्रेस–एमाले गठबन्धनको सरकारको नेतृत्व गरेका लामाको निर्णायक क्षमता भने कमजोर देखिएको छ ।
मन्त्रालयलाई पूर्णता दिन नसक्नु, मन्त्री व्यवस्थापन गर्न नसक्नु, मन्त्रीको नियुक्ति र सपथग्रहण पटक–पटक प्रभावित बन्दै स्थगित हुँदा मुख्यमन्त्री लामाको निर्णायक क्षमतामाथि प्रश्न उठेको हो । लामाले निर्णायक क्षमता राख्न नसक्दा २ पटकसम्म मन्त्रीहरुको सपथग्रहण रोकिन पुगेको थियो । बुधबार ६ मन्त्रीको सपथग्रहण गराउने तयारी गरे पनि आकांक्षीहरु बढी भएकाले विवाद भएको थियो । मन्त्रीको नामावलीमा निरन्तर फेरबदल भएपछि अन्ततः मुख्यमन्त्री लामा र एमालेका मन्त्रीहरुले मात्र सपथग्रहण गर्ने तयारी भएको थियो ।
कांग्रेसबाट मुख्यमन्त्री लामाले मात्र सपथग्रहण गर्ने भएपछि विवाद समाधान गर्न सपथग्रहणस्थलमा नै केहीबेर अलमल गरेर ३ मन्त्रीको सपथ गरिएको थियो । उनीहरुको जिम्मेवारी अझै तोकएको छैन । कांग्रेसले बिहीबार मन्त्री थप गरेर सपथग्रहणको तयारी गरे पनि मन्त्री नियुक्तिमा विवाद हुँदा अन्तिम समयमा स्थगित भएको थियो । बिहीबारमात्र मुख्यमन्त्री लामाले कांग्रेसका ४ मन्त्रीलाई नियुक्त गरेर सपथग्रहण गराउन खोजेका थिए । मन्त्रीहरुको जिम्मेवारी, भागबण्डा र मन्त्रालयको संख्याको विवाद हुँदा सपथग्रहण नै रोकिएको थियो ।
त्यसपछि कांग्रेसभित्रको विवाद थप चुलिएको थियो भने मुख्यमन्त्री लामा विवाद मिलाइदिन गुहार माग्न केन्द्रको शरणमा पुगेका थिए । केन्द्रले पठाएका प्रदेश सभा सदस्यलाई मन्त्री बनाउने गरी मुख्यमन्त्री लामा शुक्रबार गृहजिल्ला नुवाकोटको औपचारिक कार्यक्रममा सहभागी हुनुभएको थियो भने सोपश्चात् काठमाडौं जाने र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर प्रदेशको अवस्था, पार्टीभित्रको विवादबारे जानकारी गराउने कार्यक्रम रहेको छ ।
कसको इसारामा चल्दैछन् मुख्यमन्त्री लामा ?
गत साउन ८ गते मंगलबार मुख्यमन्त्री नियुक्त भएका लामा पार्टी निर्देशनअनुसार चल्न नसकेको देखिन्छ । मुख्यमन्त्री नियुक्त भएलगत्तै लामा कांग्रेस प्रदेशको शक्तिकेन्द्र हेटौँडा–२ स्थित सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’को हातबाट बधाई लिन पुग्नुभएको थियो । सोपश्चात लामाले निरन्तर डिनाको सम्पर्कमा रहेर मन्त्रीहरुको नियुक्तिमा छलफल गर्नुभयो ।
नियुक्तिकै दिन डिनासहित पार्टी प्रवक्ता प्रकाशशरण महतसँग बैठक बसेर मन्त्रीको नामावली तयार गर्नुभएका लामाले आफूसँगै १२ मन्त्रीलाई सपथग्रहण गराउने तयारी गर्नुभएको थियो । विवाद हुने डरले पत्रकारहरुबाट पनि गोप्य राखिएको मन्त्रीको नाम केन्द्रको निर्देशनभन्दा फरक परेपछि कांग्रेसका मन्त्रीहरुको सपथ नहुने अवस्थामा पुग्यो ।
केन्द्रबाट तयार गरेको नामअनुसारको मन्त्रीको लिष्टमा मंगलबार राति र बुधबार फेरबदल भएपछि नियुक्तिका विषयमा विवाद भएको कांग्रेसका एक मन्त्रीले बताउनुभयो । केन्द्रबाट प्राप्त मन्त्रीको नाममा मंगलबार राति पहिलो संशोधन र बुधबार बिहान दोस्रो पटक संशोधन भएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार मंगलबार सहमहामन्त्री डिना र प्रवक्ता महतले संशोधन गरेको नाममा बुधबार डिना एक्लैले हस्तक्षेप गर्नुभयो । आफूअनुकूल नेताहरुले मन्त्री थपघट गरेको उहाँले बताउनुभयो । सुरुवतामा डिना र महत अनुकूलतामा काम गरेका मुख्यमन्त्री लामा क्रमशः विभिन्न चरणमा अन्यबाट प्रयोग हुँदै जानुभयो । मन्त्री नियुक्ति र प्रदेश सभा सदस्य व्यवस्थापन तथा आफ्ना मान्छे मन्त्री बनाउन नेताहरु लागीपरेपछि उनीहरुको अनुकूलतामा मुख्यमन्त्री लामा अघि बढ्नुभएको थियो ।
कांग्रेसको बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको पक्षमा लचक भएर मन्त्री नियुक्त गरेको बुधबार र बिहीबारको राजनीतिक घटनाले देखाउँछ भने डिना र महतले लामालाई प्रयोग गरेको मन्त्रीको नामावली र नियुक्तिले प्रष्ट हुन्छ । बुधबार लामाले नियुक्त गर्नुभएका ३ मन्त्रीमध्ये सबै सभापति देउवा पक्षका छन् । शेखर कोइराला पक्षलाई उपेक्षा गरेर बुधबार सभापति देउवाको पक्षबाट मतहको कोटामा कुन्दनराज काफ्ले र श्यामबहादुर खड्का मन्त्री नियुक्त भएका थिए भने डिनाको कोटामा मदु कुमार श्रेष्ठ नियुक्त भएका थिए ।
सोही दिन डिनाको कोटामा समिता खड्गी मन्त्री बन्ने निश्चित थियो भने महतको कोटामा उर्मिला नेपाल र बानियाँ कोटामा मिनकृष्ण महर्जन मन्त्री बन्ने तयारी थियो । विवाद भएपछि उनीहरुको नियुक्ति नै रोकिएको थियो । बिहीबार भने मन्त्री नियुक्तिमा प्रदेश सभापति बानियाँको कोटा बढी देखियो । बानियाँ कोटामा प्रभात तामाङ र मिनकृष्ण महर्जनलाई मन्त्री नियुक्त गरिएको थियो । सोही दिन सभापति देउवाको कोटामा बिमल ठकुरी र शेखर कोइराला कोटामा सुरजचन्द्र लामिछाने मन्त्री नियुक्त भएका थिए ।
पछिल्लो समय कांग्रेस संसदीय दलको प्रस्तुतिलाई लिएर मुख्यमन्त्री लामा प्रदेश सभापति बानियाँप्रति आशावादी देखिनुभएको थियो । केही निर्णायक भूमिकामा सभापति बानियाँको सहयोगमा काम गर्नुभएका लामा मन्त्री नियुक्तिका विषयमा पनि सहयोग चाहिरहनुभएको थियो । यता सहमहामन्त्री डिनाको सचिवालय र टिम नै मुख्यमन्त्री लामाको निर्णायक भूमिकामा सहयोगी बन्दै आएको छ । मन्त्री नियुक्तिमा पनि सो टिम सक्रिय भूमिकामा देखिएको थियो ।