हेटौँडाः पर्सी शनिबार (साउन १२ गते) हेटौँडा उपमहानगरपालिका २ नम्बर वडा बालमैत्री वडा घोषणा हुने भएको छ । नगरप्रमुख मीना कुमारी लामाले वडालाई बालमैत्री वडा घोषणा गर्ने कार्यक्रम तय भएको वडाअध्यक्ष विष्णुगोपाल महर्जनले जानकारी दिनुभएको छ ।
यसअघि हेटौँडा उपमहानगरपालिकाको ८ नम्बर वडा बालमैत्री घोषणा भइसकेको छ । बालमैत्री वडा घोषणाका लागि पूरा गर्नुपर्ने ५१ वटा सूचकका आधारमा बालमैत्री वडा घोषणा गर्न तयारी पूरा भएकोले शनिबार बालमैत्री वडा घोषणा कार्यक्रम राखिएको वडाअध्यक्ष महर्जनले जानकारी दिनुभयो । बिहिबार पत्रकार सम्मेलन गरेर बालमैत्री वडा घोषणासम्बन्धमा वडाले जानकारी गराएको हो ।
२०७९ सालको सर्वेक्षणअनुसार २ नम्बर वडामा एक हजार आठ सय ११ जना १८ बर्ष भन्दा कम उमेरको जनसंख्या रहेको उल्लेख गर्नुहुँदै वडाअध्यक्ष महर्जनले भन्नुभयो, “बालमैत्री वडा घोषणाको तयारीका क्रममा १९ वटा बालसमूह र एउटा वडा बालसञ्जाल गठन गरिएको छ । बालबालिकाको संरक्षण र उचित विकासका लागि वडाले आगामी दिनमा पनि आवश्यक लगानी बढाउनेछ ।” पत्रकार सम्मेलनमा वडा सदस्य सुरज बर्तौला, वडा सचिव रामप्रसाद गुरागाई, बालमैत्री नगर सहजकर्ता सपना ढुंगाना, बालजागृति इंग्लिस सेकेण्डरी स्कूलका प्रिन्सीपल विनोद सुवेदीको पनि उपस्थिति रहेको थियो ।