हेटौँडाः हेटौँडा अस्पतालको एम्बुलेन्सहरुमा विभिन्न प्रकारका समस्या देखिएको छ । बिरामीलाई ओसारपसार गर्ने एम्बुलेन्समै समस्या आएपछि बिरामीले समयमै उपचार नपाउने जोखिम देखिएको हो ।
हेटौँडा अस्पतालमा तीन वटा एम्बुलेन्स रहेको छ । तीमध्ये एउटा एम्बुलेन्समात्र निरन्तर सञ्चालन हुनसक्ने र टाढासम्म जाने अवस्थामा छ । आफ्नो साधन नभएका बिरामीहरु अन्य संस्थाले सञ्चालन गरेको एम्बुलेन्स अथवा अटोको सहारामा अस्पताल आइरहेका छन् । भारतको सहयोगमा अस्पतालले पाएको एम्बुलेन्समा ग्राउण्ड क्लियरेन्स नभएको कारण टाढा नजाने अस्पतालका निर्देशक प्रा.डा. धीरेन्द्र गिरीले जानकारी दिनुभयो । उक्त एम्बुलेन्समा एक पटकमा दुई जना बिरामी राख्न सकिन्छ । प्रा.डा. गिरीका अनुसार उक्त एम्बुलेन्स महिनाको करिब दुई पटकमात्र प्रयोगमा आउने गरेको छ ।
यस्तै, अर्को एम्बुलेन्सले धेरै इन्धन खपत गर्ने भएकाले धेरै प्रयोगमा आउन नसक्ने गिरीको भनाइ छ । हेटौंडा अस्पताललाई नेपाल–भारत मैत्री संघले एउटा एम्बुलेन्स सहयोग गरेको थियो । थप दुई एम्बुलेन्स भने स्वास्थ्य मन्त्रालय र आपूर्ति मन्त्रालयले सहयोग गरेको थियो ।