हेटौँडाः काठमाडौं–तराई/मधेश फास्ट ट्र्याकको निर्माणाधिन सुरुङमा काम गर्ने क्रममा एकजना मजदुरको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बुधबार दिउँसो साढे ३ बजेको समयमा मकवानपुर जिल्लाको बकैया गाउँपालिका–१२, चालिसेडाँडामा निर्माणाधिन फास्ट ट्र्याकको सुरुङमार्गभित्र काम गर्ने क्रममा ढुङ्गाले लागेर बारा जिल्लाको निजगढ नगरपालिकाका २८ बर्षीय बिमल थिङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सुरुङमार्गमै ढुंगाले लागेर तनहुँ जिल्ला घर भई हाल फास्ट ट्र्याकको निर्माण कार्यमा संलग्न २८ बर्षीय राजु बिकको ढाड र कम्मरमा चोट लागेको छ । बिकको अवस्था गम्भीर रहेको र उपचारका लागि हेटौँडास्थित चुरेहिल हस्पिटल पठाइएको प्रहरीले जनाएको छ ।