खुसियाली र्यालीमा सहभागी हुँदै जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक ।

हेटौँडाः हेटौँडा–४, स्थित भुटनदेवी माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा राम्रो नतीजा ल्याएको खुसियाली र्याली निकालेको छ । सामुदायिक विद्यालयतर्फ राम्रो नतीजा हासिल गर्न सफल भएको भन्दै बुधबार विद्यालयले खुसियाली र्याली निकालेको हो ।

विद्यालय परिसरबाट सुरु भएको र्याली पारिजातपथ, शितलमहल चोक, कपुर कम्पलेक्स चोक, मेनरोड, लोकप्रिय चोक हुँदै मानसचोक, काँग्रेसचोक, सँगमचोक, कान्तिराजपथबाट पुनः विद्यालयको परिसरमा आएर समापन भएको थियो । खुसियाली र्यालीमा वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देल, वडाका प्रतिनिधि, शिक्षक, कर्मचारी, १० कक्षाका विद्यार्थी सहभागी थिए ।

भुटनदेवी माविले “मकवानपुरको शिक्षामा शान, गुणस्तरीय शिक्षा भुटनदेवीको पहिचान” भन्ने नारा नै बनाएको छ । २०८० सालको एसईईमा भुटनदेवी माविबाट २ सय ४१ जना विद्यार्थी सहभागी भएकोमा १ सय ७९ जना विद्यार्थी कक्षा ११ मा भर्ना हुन योग्य भएका छन् । १२ कक्षासम्म पठनपाठन हुने भुटनदेवी माविमा २ हजार ३ सय विद्यार्थी अध्ययनरत छन् ।