मुख्यमन्त्री तथा मन्त्रीहरुको सपथग्रहण कार्यक्रमका लागि तयारी अवस्था ।

हेटौँडाः सत्तारुढ दल नेपाली कांग्रेस भित्र मन्त्री छान्न सकस परेको छ । मुख्यमन्त्री बाहेक ६ मन्त्रालय भाग पाएको कांग्रेसमा मन्त्रीका आकांक्षी बढी हुँदा समस्या भएको हो । मन्त्री छान्न नसक्दा कांग्रेसको भागमा रहेको मन्त्रालयमा आज बुधबार मन्त्री नियुक्त नहुने भएको छ । कांग्रेसबाट मुख्यमन्त्री बहादुर सिं लामाले मात्र सपथ ग्रहण गर्ने तयारी गरिएको एक प्रदेश सभा सदस्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार कांग्रेसमा मन्त्रीको आकांक्षी बढी भएको र मन्त्री बनाउन पार्टी केन्द्र तथा नेताहरुबाट अधिक दवाव आएकाले तत्काल मन्त्री नपठाउने निर्णय भएको हो । ६ मन्त्रालयका लागि १५ जनाभन्दा बढी प्रदेश सभा सदस्यहरुको नाम आएको र सोही अनुसार नेताहरुले आ–आफ्नो मान्छेलाई मन्त्री बनाउन दवाव दिएकाले तत्काल मन्त्री नपठाउने निर्णयमा पुगेको उहाँको भनाइ छ ।

कांग्रेसबाट मन्त्री छान्न सहमहामन्त्री महालक्ष्मी उपाध्यय ‘डिना’ र पार्टी प्रवक्ता प्रकाश शरण महतले कसरत गरिरहनुभएको बुझिएको छ । मंगलबार राती एक होटलमा बसेर मन्त्रीको नाम तयार गर्न दुई नेतासहित मुख्यमन्त्री लामाले कसरत गरेको बताइएको छ । मंगलबार राती र बुधबार विहानसम्म गरेको कसरतले नतिजा दिन नसक्दा मुख्यमन्त्रीसँगै सपथको सम्भावना टरेको छ ।

मंगलबार राती दुई नेताहरुले आफू अनुकुल मन्त्री बन्नेहरुको नाम तयार गरिएपनि कांग्रेसका अन्य नेताहरुले दवाव दिएको बताइएको छ । अन्य नेताहरुले आफ्ना मान्छे मन्त्री बनाउन दवाव दिएपछि तयार भएको नाम सार्वजनिक समेत हुन सकेन । मंगलबार राती सहमहामन्त्री डिना र प्रवक्ता महतले कुन्दनराज काफ्ले, रमेश कुमार महत, श्याम खड्का, समिता खड्गी, मदु कुमार श्रेष्ठ, प्रभात तामाङ लगायतका प्रदेश सभा सदस्य मन्त्री बनाउने तयारी गर्नुभएको थियो । त्यसअघि मन्त्रीका लागि सिफारिसमा परेका हरि प्रभा खड्गी, बिमल ठकुरी, सुरेश श्रेष्ठ लगायतको नाम काटिएपछि कांग्रेसमा समस्या भएको हो । कांग्रेसमा आकांक्षी बढी भएपछि ६ फुल मन्त्री सहित २ राज्यमन्त्री बनाउने तयारी गरेको थियो ।