पुस्तक समीक्षा गर्नुहुँदै एक विद्यार्थी ।

हेटौँडाः हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलमा कक्षा ६, ७ र ८ मा अध्ययनरत विद्यार्थीबीच पुस्तक समीक्षा कार्यक्रम भएको छ । विद्यालयको अंग्रेजी क्लबको आयोजनामा आइतबार पुस्तक समीक्षा कार्यक्रम भएको हो । विद्यालयले विद्यार्थीबीच पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पुस्तक समीक्षा कार्यक्रमको आयोजना गरेको हो ।

विद्यालयको पुस्तकालयमा नियमित पुस्तक पढ्ने विद्यार्थी मध्ये १९ जना विद्यार्थीले अंग्रेजी र नेपाली दुबै भाषाका पुस्तकको समीक्षा गरेका थिए । पुस्तक समीक्षामा सहभागी विद्यार्थी मध्ये अंग्रेजीतर्फ ५ जना र नेपालीतर्फ ४ गरी ९ जनालाई प्रोत्साहनस्वरुप पुस्तक वितरण गरिएको छ । अंग्रेजी पुस्तक समीक्षा गर्ने आर्शु श्रेष्ठ, अनुज्ञा विडारी, स्वर्णिम सुवेदी, रिदिमा आचार्य र आयुष रौनियार, नेपाली भाषाको पुस्तक समीक्षा गर्ने श्रेयषी गौतम, सृष्टी लामा, तृषा लामा र आध्या कोइरालालाई प्रोत्साहनस्वरुप पुस्तक प्रदान गरिएको हो ।

अंग्रेजी क्लबकी अध्यक्ष कृष्टिन कार्कीको अध्यक्षता तथा समृद्ध समाज दैनिकका सम्पादक एवम् पठन संस्कृतिका अभियन्ता सुरेश श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम विद्यालयका प्रिन्सीपल विनोद सुवेदी, सहायक प्रिन्सीपल अमुल श्रेष्ठको पनि उपस्थिति रहेको थियो । प्रमुख अतिथि श्रेष्ठले विद्यार्थीलाई पाठ्यपुस्तकभन्दा बाहिरका पुस्तक पढ्न प्रेरित गर्दै समीक्षा समेत गराउनु सकारात्मक र प्रशंसनीय कार्य भएको उल्लेख गर्नुभयो । उहाँले पठन संस्कृतिको विकासका लागि विद्यार्थीको कक्षाअनुसार उपयुक्त पुस्तक पढ्नका लागि उपलब्ध गराउने र सहयोग गर्ने काममा शिक्षक र अभिभावकले ध्यान दिनुपर्ने सुझाव दिनुभएको छ ।