मुख्यमन्त्री शालिकराम जम्कट्टेल

हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले देशलाई द्वन्दमा फसाउने काम भइरहेको टिप्पणी गर्नुभएको छ । मुख्यमन्त्री जम्कट्टेलले संविधान संशोधनको नाममा २ ठुला दलले देशलाई इतिहासमा फर्काउने काममा अग्रसर भएको बताउनुभएको हो ।

आइतबार बसेको प्रदेशसभा बैठकमा आफ्नो धारणा राख्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले दुई ठुला दलले अदृश्य सहमती गरेर समावेशी सहभागिता हटाउने प्रयत्न भएको बताउनुभयो । राजनीतिक स्थिरताको नाम संविधान संशोधन गरेर उत्पीडित वर्गको अधिकार माथि हस्तक्षेप गर्न नयाँ समिकरणका दलहरु अघि बढेको उहाँको भनाई छ ।

दुई ठुला दलले अदृश्य रुपमा राजनीतिकसहमती छोपेर राखिएको उहाँले बताए । दलले गर्ने राजनीतिक सहमती गोप्य नहुने र जनतालाई ढाट्न दलहरुले राजीतिक सहमती गरेको उनले स्पष्ट पारे । मुख्यमन्त्री जम्कट्टेलले बहुमत हुँदैमा सरकार निरन्तर नजाने बताउनुभयो । ‘संविधान संशोधन गरे समानुपातिक निर्वाचन प्रणाली हटाउने प्रयत्न भएको छ । निर्वाचन प्रणाली परिवर्तन गरेर समावेशीता हटाउने काममा दुई ठुला दलहरु लागेका छन् । निर्वाचन प्रणाली फेर्ने नै भए पूर्ण समानुपातिक प्रणालीमा अघि बढ्नु पर्छ । यसले नेपाललाई अग्रगामी रुपमा स्थायीत्व दिन सक्छ । संशोधन नै गरेर कार्यकारी भुमिकामा जान तयार हुनुपर्छ ।’ उहाँले भन्नुभयो ।

देशले राष्ट्रिय सभामा समावशीता नखोजेको उहाँको भनाई छ । उहाँका अनुसार देशले कार्यकारी भुमिकामा समावेशीता खोजेर निर्वाचन प्रणाली परिमार्जन गर्नुपर्ने हुन्छ । मुख्यमन्त्री जम्कट्टेलले राष्ट्रिय सहमती संसद भित्रको अंक गणित नभएको बताउनुभयो । संसद भित्र र बाहीर रहेका सरोकारवालाको सहमती नै राष्ट्रिय सहमती भएको उहाँको भनाई छ । प्रदेशलाई अधिकार आउँछ भन्नेमा विश्वस्त नरहेको उहाँको भनाई छ । अहिलेको समिकरणले प्रदेशलाई अधिकार दिने र संघीयता बलियो नबनाउने उहाँले बताउनुभयो ।