हेटौंडाः यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाबाट एक वर्षमा करिब ९ हजार जनालाई सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गरिएको छ । कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा ८ हजार ९ सय ६४ जनालाई लाइसेन्स वितरण गरेको हो ।

यातायात कार्यालयले नयाँ लाइसेन्स ५ हजार ७ सय २५ जना र थप लाइसेन्स ३ हजार २ सय ३९ जनालाई वितरण गरेको कार्यालयका सूचना अधिकारी राजु अर्यालले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा कार्यालयले ३ हजार ४ सय ४५ वटा मोटरबाइक, एक हजार एक सय २७ वटा स्कुटर, ७ सय ४३ वटा कार, एक सय ११ वटा आटो रिक्सा, २० वटा इ–रिक्सा, ५३ वटा ट्याक्टर, एक सय ४१ वटा स्क्याभेटर र ८५ वटा जेसीबी चलाउनलाई नयाँ लाइसेन्स वितरण गरेको हो । नयाँ लाइसेन्सका लागि १५ हजार २ सय ६ जनाले दरखास्त दर्ता गरेको अर्यालले बताउनुभयो ।

यस्तै, ७ सय ४२ वटा मोटरबाइक, ५१ वटा स्कुटर, एक हजार ३ सय ७४ वटा कार, एक सय ४८ वटा अटो रिक्सा, १४ वटा इ–रिक्सा, १७ वटा ट्याक्टर, ३९ वटा स्क्याभेटर र ३७ वटा जेसीबी चलाउने थप लाइसेन्स वितरण गरिएको हो । २ सय २२ वटा साना ट्रक÷बस र २ हजार २१ वटा हेबी गाडीको थप लाइसेन्स वितरण गरिएको कार्यालयका सूचना अधिकारी अर्यालले जानकारी दिनुभयो । साना ट्रक अथवा बसको लाइसेन्स लिएका सवारी चालकलाई दुई वर्षपछि मात्र थप लाइसेन्स वितरण गरिने उहाँले बताउनुभयो ।

थप लाइसेन्सका लागि ८ हजार ८ सय २७ जनाले दरखास्त दर्ता गरेका थिए । एक वर्षको अवधिमा कार्यालयबाट एक सय ५९ जनाले प्रतिलिपि लाइसेन्स लिएको अर्यालले बताउनुभयो । यस्तै, ५ हजार एकसय ९७ वटा लाइसेन्स नवीकरण भएको छ भने ६१ वटा लाइसेन्स नवीकरण नहुँदै हराएको छ । कार्यालय यस अवधिमा ३९ करोड ७ लाख २४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।