बागमती प्रदेश सभा सचिवालय ।

हेटौंडाः बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल विनियोजन बजेटमध्ये ४५ अर्ब ६६ करोड ७९ लाख ९९ हजार रुपैयाँ खर्च गरेको छ । प्रदेशको १३ मन्त्रालय, संवैधानिक निकाय र मातहतका कार्यालयहरुबाट चालु तथा पुँजीगततर्फका विभिन्न शीर्षकअन्तर्गत विनियोजित कुल ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँमध्ये १७ अर्ब ४ करोड १० लाख ७८ हजार रुपैयाँ फ्रिज भएको हो ।

प्रदेश सरकारको कुल विनियोजनको २३ प्रतिशत रकम फ्रिज भएको प्रदेश लेखा नियन्त्रक कार्यालय हेटौंडाले जनाएको छ । प्रदेश सरकारले चालुतर्फ २६ अर्ब २९ करोड ४ लाख ६५ हजार रुपैयाँ विनियोजन गरेकोमा १७ अर्ब १२ करोड ५५ लाख २ हजार रुपैयाँ खर्च गरेको छ । चालुतर्फ प्रदेश सरकारको ९ अर्ब १६ करोड ४९ लाख ६२ हजार रुपैयाँ फ्रिज भएको प्रदेश लेखा नियन्त्रक हरिप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश सरकारले पुँजीगततर्फ ३५ अर्ब ९१ करोड ८६ लाख १३ हजार रुपैयाँ मध्ये २८ अर्ब ५४ करोड २४ लाख ९७ हजार रुपैयाँ खर्च गरेको छ भने ७ अर्ब ३७ करोड ६१ लाख १५ हजार रुपैयाँ फ्रिज भएको छ । प्रदेश सरकारले चालु खर्चतर्फ कर्मचारी पारिश्रमिकमा २ अर्ब ५ करोड ३५ लाख ५६ हजार रुपैयाँ र पदाधिकारी पारिश्रमिकतर्फ ११ करोड ९४ लाख ६९ हजार रुपैयाँ खर्च गरेको छ । पोशाक खर्च शीर्षकअन्तर्गत ५ करोड ५५ लाख ३० हजार रुपैयाँ खर्च गरेको छ भने खाद्यान्नबापत ६ करोड ६९ लाख ६३ हजार रुपैयाँ खर्च गरेको छ ।

प्रदेश सरकारको कुल बजेटमध्ये भत्ता शीर्षकअन्तर्गत २५ करोड २५ लाख ५ हजार रुपैयाँ खर्च गरेको छ । सो शीर्षकअन्तर्गत कुल ३७ करोड ३६ लाख ९६ हजार रुपैयाँ विनियोजन भएको थियो । उक्त शीर्षकअन्तर्गत स्थानीय भत्तातर्फ ८० लाख ७४ हजार रुपैयाँ विनियोजन गरिएकोमा ३९ लाख ६९ हजार रुपैयाँ खर्च भएको छ । महंगी भत्तातर्फ विनियोजित १२ करोड १७ लाख ८५ हजार रुपैयाँमध्ये ८ करोड १० लाख ५९ हजार रुपैयाँ खर्च भएको छ । कर्मचारी बैठक भत्तातर्फ ४ करोड २२ लाख ७० हजार रुपैयाँ विनियोजन भएकोमा २ करोड ५३ लाख ९७ हजार रुपैयाँ खर्च भएको छ भने अन्य भत्तातर्फ विनियोजित ५ करोड ६१ लाख ४० हजार रुपैयाँमध्ये ३ करोड ९० लाख ४ हजार रुपैयाँ खर्च भएको छ ।

यस्तै, पदाधिकारी बैठक भत्तातर्फ विनियोजित २ करोड २५ लाख १९ हजार रुपैयाँमध्ये ७८ लाख ५७ हजार रुपैयाँ खर्च भएको छ । पदाधिकारी अन्य भत्तातर्फ विनियोजित १ करोड ५१ लाख ८७ हजार रुपैयाँमध्ये ९५ लाख ४५ हजार रुपैयाँ खर्च गरेको छ भने पदाधिकारी अन्य सुविधातर्फ १० करोड ७७ लाख २० हजार रुपैयाँ विनियोजनमध्ये ८ करोड ५६ लाख ७३ हजार रुपैयाँ खर्च गरेको छ ।

इन्धन खर्चमा सकियो २४ करोड बढी रकम
प्रदेश सरकारको कुल बजेटमध्ये इन्धन शीर्षकमा २४ करोड रुपैयाँ बढी रकम खर्च भएको छ । मन्त्रालय र मातहतका निकायले कुल विनियोजनमध्ये २४ करोड ८१ लाख २७ हजार रुपैयाँ खर्च गरेको हो ।

विभिन्न सुविधाअन्तर्गत प्रदेश सरकारले विनियोजन गरेको २८ करोड ९९ लाख १९ हजार रुपैयाँमध्ये २४ करोड ८१ लाख २७ हजार रुपैयाँ खपत गरेको हो । प्रदेश सरकारले पदाधिकारी सुविधाअन्तर्गत प्राप्त हुने इन्धन खर्चतर्फ विनियोजन गरेको २ करोड ६ लाख ५६ हजार रुपैयाँमध्ये १ करोड ३२ लाख ८० हजार रुपैयाँ खर्च गरेको छ ।

कार्यालय प्रयोजनका लागि प्रयोग हुने इन्धन खर्चतर्फ विनियोजित १२ करोड ९१ लाख ५९ हजार रुपैयाँमध्ये ११ करोड २६ लाख २ हजार रुपैयाँ खर्च गरेको छ भने अन्य प्रयोजनका लागि प्रयोग हुने इन्धन खर्चतर्फ विनियोजन गरिएको १ करोड ७४ लाख २ हजार रुपैयाँमध्ये १ करोड १२ लाख ८७ हजार रुपैयाँ खर्च भएको छ ।

सवारी साधन मर्मततर्फ खर्च ११ करोड ९ लाख ५७ हजार रुपैयाँ खर्च भएको छ । सो शीर्षकमा प्रदेश सरकारले १२ करोड २७ लाख १ हजार रुपैयाँ विनियोजन गरेको थियो । प्रदेश सरकारले चालु आर्थिक वर्षमा ४६ लाख ९८ हजार रुपैयाँ खर्च गरेर सवारी साधन खरिद गरेको छ । सो शीर्षकतर्फ ५३ लाख ९४ हजार रुपैयाँ विनियोजन गरेको थियो ।

अनुगमन खर्च ११ करोड रुपैयाँ
प्रदेश सरकारले चालु आर्थिक वर्षमा विभिन्न अनुगन तथा मूल्यांकनका लागि ११ करोड रुपैयाँ बढी बजेट खर्च गरेको छ । विभिन्न विकासका आयोजना अनुगमनका लागि प्रदेश सरकारका निकायहरुले ११ करोड १४ लाख ८४ हजार रुपैयाँ खर्च गरेको हो ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा अनुगमन मूूल्यांकन खर्च शीर्षकअन्तर्गत १२ करोड ८१ लाख २६ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । त्यस्तै, प्रदेश सरकारले भ्रमण खर्चअन्तर्गत २ करोड ८४ हजार रुपैयाँ खर्च गरेको छ । भ्रमण खर्चतर्फ विनियोजित ३ करोड ४५ लाख ५८ हजार रुपैयाँमध्ये १ करोड ९० लाख २९ हजार रुपैयाँ खर्च गरेको छ भने विशिष्ट व्यक्ति तथा प्रतिनिधि मण्डल भ्रमण खर्च शीर्षकतर्फ विनियोजित ३४ लाख ५० हजार रुपैयाँमध्ये १० लाख १९ हजार रुपैयाँ खर्च भएको छ ।

प्रदेश सरकारले सार्वजनिक तथा नीजि जग्गाको भाडा वापत २९ लाख ५८ हजार रुपैयाँ खर्च गरेको छ । सो शीर्षकअन्तर्गत प्रदेश सरकारले ३५ लाख २ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । घर भाडाका लागि प्रदेश सरकारले कुल विनियोजित बजेट ११ करोड ८३ लाख ४१ हजार रुपैयाँमध्ये ९ करोड ७७ लाख ९१ हजार रुपैयाँ खर्च गरेको छ । सवारी साधन तथा मेसिनरी औजार भाडातर्फ विनियोजित ४३ लाख ९९ हजार रुपैयाँमध्ये २७ लाख ११ हजार रुपैयाँ खर्च गरेको छ । सवारी साधन तथा मेसिनरी औजार मर्मत शीर्षकमा विनियोजन गरेको ३ करोड ८५ लाख ६५ हजार रुपैयाँमध्ये ३ करोड २६ लाख ५३ हजार रुपैयाँ खर्च गरेको छ ।