हेटौंडाः पूर्वी मकवानपुरको बागमती गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत विरुद्ध परेको रिटमा अन्तरिम आदेश जारी नहुने भएको छ । शुक्रबार उच्च अदालत पाटन हेटौंडा इजलासका न्यायाधीशहरु युमना भट्टराई र निर्मला शाक्यको संयुक्त इजलासले यस्तो फैसला गरेको हो ।

गएको आइतबार गाउँपालिकाका उपाध्यक्ष फणिन्द्र तिमल्सिनासहित वडाध्यक्ष र कार्यपालिकाका सदस्यहरुले गाउँपालिकाका अध्यक्ष सर्केश घलान र प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानविरुद्ध उत्प्रेषण परमादेश मुद्दामा रिट दायर गर्नुभएको थियो । रिटमा सोमबार अदालतकी न्यायाधीश शकुन्तला घिमिरेको एक इजलासले उक्त आदेश जारी गर्दै असार २८ गतेका लागि रिट निवेदक र विपक्षीलाई उपस्थित हुन आदेश दिनुभएको थियो ।

अदालतका रजिष्ट्रार केशरनाथ अर्यालका अनुसार अन्तरिम आदेश जारी नहुने भएसँगै अब उक्त मुद्दाले अग्राधिकार पाउनेछ । मुद्दाको अब साउन १५ गतेभन्दा अगाडि पेशी नतोकिने भएको छ । साउन १५ गतेसम्म कुनै मुद्दाको पेशी नतोकिने रजिष्ट्रार अर्यालले बताउनुभयो । उक्त फैसलासँगै अब बागमतीको बजेट ल्याउने कुरामा कुनै बाधा नहुुने भएको छ ।