Home कला छाप्रेका राजनीति महलले गरेर हुँदैन–रुदाने

छाप्रेका राजनीति महलले गरेर हुँदैन–रुदाने

केटाकेटी बिग्रे बाबुआमा दोषी
बाबुआमा बिग्रे समाज दोषी
समाज बिग्रे जनता दोषी
जनता बिग्रे सरकार दोषी
सरकार बिग्रे व्यवस्था दोषी
व्यवस्था बिग्रे अगुवा दोषी !

पक्कै पनि माथिका हरफ पढ्नासाथ एउटै अनुहार आँखामा घुम्न थाले होला, अग्लाईमा करिब छ फिट दुई ईन्च, झुस्स दाह्रि फुरुङ्ग जुङ्गा, फोहरी जस्ता र लामा रसियन टाईपका ओभरकोट अनि भब्य र आलिसान स्वरका धनी रुपचन्द्र बिष्ट, दामन नेपाल “रुदाने“ । हो चेतना फैलाउने शिक्षावादी, जनवादी, जनमुखी जे भनेर सम्मान गरेपनि रुप्चन, रुदाने, स्वरुपे, “थाहा पा भाते, जान् भाते, बुझ् भाते” का प्रवर्तक आफ्नो बिवाहमा बोलाएका पाहुनालाई आफ्नै गोठका गाईको दूध र चिया खुवाई भोज यहि हो भनी भत्तेर खर्च स्कुले शिक्षामा लगानी गर्ने प्रधानाध्यापक, अति यथार्थमुखी कर्तव्यमुखी, “पछुवा, भगुवा सारा दोषी, जात ठूलो कि जनता, नाता ठूलो कि न्याय, ‘स्वार्थ ठूलो कि निस्वार्थ” भन्ने चोटिलो प्रश्न तेस्र्याउने विचारमा स्पष्ट, योजनामा दुरदृष्टि एक कर्तव्यनिष्ट जनताको सेवक रुपचन्द्र बिष्ट “रुदाने” हुन् ।

जन्मले जिम्दारी खलकमा जन्मेका रुदाने, पारिवारिक विचार भन्दा फरक कम्युनिष्ट विचारधारामा नयाँ चिन्तक बने । स्कुले जीवनबाटै राजनीति शुरु गरेका विष्ट वि.सं. २००७ देखि २०१० सम्म कम्युनिष्ट विद्यार्थी राजनीतिमा सक्रिय रहे । २०१० सालदेखि २०१७ सालसम्म किसान र मजदुरहरू बीच क्रियाशील रही सुनिएअनुसार राजा महेन्द्रले उहाँको टाउको लिएर मात्र दरबार छिर्नु भन्ने उर्दिमा परेका एक भबिष्यद्रष्टा नेता थिए । २०२२ साल र २०२९ सालमा मकवानपुरको पालुङ गाउँ पञ्चायतका प्रधानपञ्च बनी दामन र पालुङ गाउँ पञ्चायतलाई मिलाएर एउटै गाउँ विकास समिति बनाई एकीकृत सामुदायिक विकासको अवधारणालाई मुर्तरुप दिन पालिका कार्यालयलाई विकास घरको नामाकरण गरी विकास करको नियम समेत लागू गरेका थिए ।

तात्कालिक श्रमदानका प्रवर्तक “एक पालिका एकै बिकास, एक घर एकै निकास” का नारा घन्काउने रुदाने अनिवार्य एक घर एक श्रमदाता भनी दामन र पालुङवासीले एक धार्नी आलु बेच्दा ५ पैसा विकास कर लगाउनु भएको थियो । रुदाने भन्नुहुन्थयो रे “जनतालाई लाउने कर भनेको, उपियाँको चुसाई जस्तो कर र उडुस जस्तो विकास हुनुपर्छ ।” यसलाई अर्थशास्त्रले चाणक्य करनीति पनि भनिन्छ । जस्को कारणले आफुलाई कुशल अर्थशास्त्री समेत सावित गराउन सफल भए । जनताले तिरेको कर कहाँ खर्च भइरहेको छ र त्यसको प्रष्ट जानकारी पाउनुपर्छ भनी दिनदिनै विकास घरको सुचनापाटीमा विकास कर कहाँ खर्च भइरहेको छ ? त्यसको हरहिसाब टाँसिदिने अनिवार्य नियम समेत बनाएका थिए ।

पञ्चायती व्यवस्थाले पटक–पटक बिना जानकारी जेल हाली बेपत्ता बनाउँदा मारिएको र त्रिशुली खोलामा हामफालेर भाग्न खोज्दा बगाएर मरेको समेत हल्ला चलाइएको थियो । स्नातक तह उत्तीर्ण गरेका स्कुले हेडमास्टर रुदाने, पञ्चायती व्यवस्थाको प्रखर विरोधी हुँदाहुँदै समेत उहाँको विकास नीति र जनउत्तरदायी कार्यले गर्दा २०२८ सालमा स्नातक कोटाबाट राष्ट्रिय पञ्चायत सदस्य भए ।

केही साल आफ्ना व्यक्तिगत समस्या र बिद्रोही स्वभावले गर्दा भारतमा स्वनिर्वासनमा बसी पूर्वीय दर्शनको अध्ययन समेत गर्नपुगेका रुदाने केही साल हराएकोले तत्कालिन सोभियत संघबाट कम्युनिष्ट शिक्षा पढेर आएको हल्ला समेत चलेको हेटौँडाका पहिलो मेयर (राजा मार्फत चुनिने) बुद्धिलाल राजथला बुवा मुक्तकण्ठले बाक्लैगरी सुनाउनु हुन्थयो । “थाहा” आन्दोलनका प्रवर्तक विचारका आधारमा निर्वाचन लड्थे र आफ्ना विचारका पुलिन्दा पम्प्लेट जबरजस्ती जनतालाई र समाजका भ्रष्ट चोर भनिनेलाई बेचेर चुनाव खर्च निकाल्थे । मुलुकमा रहेको मण्डलेतन्त्रको मात्र होइन, घर, टोल, गाउँ र दल (प्रगतिशील र प्रजातान्त्रिक) भित्र रहेको मण्डलेतन्त्रको विरोध नै रुदानेका २०३८ र २०४३ सालका निर्वाचनका एजेण्डा हुन्थे र यी दुबै निर्वाचनमा मकवानपुरबाट तत्कालिन राष्ट्रिय पञ्चायतमा निर्वाचित हुँदै प्रतिनिधित्व समेत गरेका थिए ।

२०३० साल ताका “थाहा” आन्दोलन सुरू गरेका रुदानेले उनी र उनका सहकर्मी मार्फत राजमार्ग र यसका वरिपरिका ढुङ्गा, भित्ता, पर्खाल, रूखदेखि खाली कागज र चुरोटको बट्टासम्ममा ‘थाहा’ लेखी प्रचारलाई तिब्रता दिएका थिए । यहाँसम्मकी उहाँ जुन बाटोबाट हिँडुनुहुँथ्यो बाटै परिवर्तन गर्नु पथ्र्यो नत्र छातिमा पर्ने गरी कपडामा थाहा डामेर उल्टो खर्च भर्नु पथ्र्यो ।

२०३९ सालको दशैं ताकाको कुरो हो हेटौँंडा नगर पञ्चायतको कार्यालय अगाडि हाल अञ्चल आयुर्बेदिक अस्पताल भएको स्थानमा हाम्रो चिया होटल थियो । हेटौँडा नगर पञ्चायतका प्रधानपञ्च नीरशंकर श्रेष्ठ खुब चिया पिउनुपर्ने । म चिया बोकेर दाइले दशैका लागि किनिदिनुभएको नयाँ हुकवाला बुस्कट ज्याकेट लाएर प्रमुखको कार्यकक्षतिर जाँदै थिएँ । बरण्डामै रुदानेसँग जम्का भेट भो । उहाँले च्याप्पै समाएर नयाँ ज्याकेटको छातिमा “थाहा” डाम्दिहाल्नु भो । म भख्खर उमेरले एक दशक कटेको बबुरो नयाँ बुस्कट ज्याकेट बिगारिदियो भनेर रोई रोई नयाँ किन्न लगाको हिजो जस्तो लाग्छ ।

प्रसंग पुनः “थाहा” आन्दोलन तिरै केन्द्रित गरौं । “थाहा” आन्दोलनको महत्वपूर्ण विशेषता के थियो भने यसमा कुनै पनि प्रकारको सैद्धान्तिक क्लिष्टता या अस्पष्टता थिएन । आन्दोलनको सार नै प्रवर्तकको रुखो बोलीमा ठाडो आग्रह थियो र मूल लक्ष्य भनेको चेतनाहीन जनतालाई चेतना सम्पन्न नागरिकमा रूपान्तरण गरी राजनीतिक र सामाजिक जागरण गर्नु थियो । छोटो समयमै “थाहा” आन्दोलनले देशैभरि र दक्षिण एसियाली मुलुकमा समेत ठूलै हल्लिचल्लि मचाएपछि तत्कालिन राजा बीरेन्द्रले समेत राष्ट्रिय पञ्चायतमा विशेष समय लिई “थाहा” आन्दोलन बारे जानकारी लिएका थिए । “थाहा” एक दर्शन हो । थाहा आफैंमा आन्दोलन पनि हो । दर्शन राजनीति पनि हो र राजनीति जनमुखी हुनुपर्छ भनेर कुर्लिँदा राष्ट्रिय पञ्चायत नै स्तब्ध हुन्थ्यो भनी समकक्षी जेपी भेटवाल भन्नुहुन्थ्यो ।

उच्च तथा सरल जनशैलीका विशेषता भएका रुदाने त्यस्ता नेपाली थिए, जो राजनीति गरेर राजनीतिज्ञ कहलिएनन्, श्रम गरेर पनि श्रमिक भनिएनन्, साहित्य लेखेर साहित्यकारमा दरिएनन् र मौलिक दर्शन स्थापित गरेर पनि दार्शनिक भनिएनन् । बिद्रोहि चरित्रका डोके (आफू प्रधानाध्यापक हुँदा, कसैले बाँझो बारिमा खेति गर्न लाग्यो भन्ने सुन्ने बितिकै डोका भरिभरि मल बोक्न जनताको बारिमै पुग्थे र साथमा स्कुलका अन्य मास्टर साब र आफ्नो परिवारलाई समेत लिएर जाने हुनाले डोके नेताले समेत चिनिन्थे) जननेता रुदाने । “तलाई तेरा बाउआमाले जन्माए हुर्काए र पढाए, तेरो कर्तव्य पनि बच्चा जन्माउने, हुर्काउने र पढाउने मात्र हो, बाउआमा त राज्यले पाल्ने हो”, भन्ने सामाजिक बिद्रोह समेतको प्रतिनिधित्व गर्थे भने छोराछोरीलाई नपढाउनेलाई श्रम सजायको दायरामा ल्याउँथे । यसै क्रममा स्कुलको थप भवन निर्माण जनश्रमदानबाटै सम्पन्न समेत गराएका थिए ।

पञ्चायतलाई चितुवाको संज्ञा दिने उनी भन्ने गर्थे “पैसाबाट सत्यता, पदबाट इन्साफ, शोषकबाट विकास, विदेशीबाट राष्ट्रियता, बेईमानबाट इमान, गुण्डाबाट राजनीति, शासकबाट प्रजातन्त्र पाइन्छ भन्नेहरुले नै चितुवालाई बाख्राको गोठालो लगाउँछन् । उनको भाषामा पञ्चायती व्यवस्थालाई चितुवाको संज्ञा दिनु र खराब मनबाट असल काम होला भनी सोच्नु दिवास्वप्न हो भनी ठोकुवा गर्थे । “निष्पक्ष सक्रियताको अभ्यास” पनि थाहा आन्दोलन हो भन्दै करिब तीन दशक थाहा आन्दोलनलाई शिखरमा पु¥याएका थिए ।

“श्रमिकको राजनीति पुँजीपतिले गरेर हुँदैन, छाप्राको राजनीति महलले गरेर हुँदैन, महिलाको राजनीति पुरुषले गरेर हुँदैन, आफ्नो लागि आफैँ जागेर अघि बढ्नुपर्छ, दुःख पाउनेले नै दुःखको रंग चिनेको हुन्छ, श्रम गर्नेले नै श्रमिकको व्यथा जानेको हुन्छ र आफ्ना लागि आफैंले लड्नुपर्छ भन्ने मान्यताबाट ओतप्रोत रुदाने, जसको उत्थान हुनुपर्छ, ऊ स्वयम्ले अगुवाई गर्नुपर्छ, श्रम गर्नुपर्छ, ठाउँमा पग्लनुपर्छ, ठाउँ–ठाउँमा कठोर बन्नुपर्छ, जानेर बुझेर अघि बढ्ने हिम्मत गर्नुपर्छ र होस सहितको जोसले काम गर्नुपर्छ”, भन्नुहुन्थ्यो । उनको यो भनाई आज पनि उतिकै सान्दर्भिक गुञ्जिनै रहेको छ, “हामी कसैका होइनौँ, कोही हाम्रा होइनन् मात्र हामी सत्य र न्यायका, सत्य र न्याय हाम्रा लागि हुन् ।” चाहे सर्वसाधारण हुन् या शासक प्रशासकहरू नै किन नहून् सबैलाई तँ भन्थे, तिमी विरलैलाई भन्थे, तपाईँ भन्ने खालका मानिसहरू उनको नजरमा विल्कुलै कम थिए । तत्कालिन प्रधानपञ्च निरशंकरलाई त भातेको संज्ञा नै भिडाएका थिए ।

६६ बर्षको उमेरमा कालिमाटी, काठमाडौंको आफ्नै निवास अँध्यारो कोठा भित्रै नेपाली र नेपाली माटोले चिन्न नसकेका महान रुदानेको मृत्यु २०५६ असार ७ गते भएको थियो र लासको राजनीति नगरी, मृत लासमा अबीर–माला नलगाई, काजकिरिया समेत नगर्न अनुरोध गरेका अन्तिम क्षणका उनका सहयोगि बताउँछन् ।

हाम्रा बुवा आमा चिया होटल गरी बस्ने भएकाले श्रमजीवी हुन्थे र स–सम्मान सहयोग पनि गर्थे भने म तत्कालिन नेकपा मालेको अनेरास्ववियु (पाँचौं) को स्कुलस्तरीय नेता भएकोले श्रम शोसक हुन्थें । पटक–पटक मलाई “बहुदलवादी कम्युनिष्टमा नलाग् शोसक, अहिले बहुदल ल्याउने बेला भएकै छैन, पञ्चायती उडुसहरु जनताको रगत चुसेर टन्नसँग बसेका छन् । बहुदलवादी उपियाँलाई ल्याउँदा झन् रगत चुसाईमा परिन्छ” भन्नुहुन्थ्यो । साथसाथमा यो देशमा ९५ प्रतिशत गरिब, ७० प्रतिशत निरक्षर छन्, ५ प्रतिशत धनी झन् धनी हुन्छन् र ३० प्रतिशत साक्षरले देश क्वाप्लक्कै निल्छ पनि भन्न छुटाउनु हुन्थेन । २०२८ सालको झापा बिद्रोह र २०३५/०३६ मा पाकिस्तानको जुल्फिकर अलि भुट्टोको फाँसी पश्चात् दन्केको शैक्षिकरुपी आन्दोलनको गाथाले प्रत्यक्ष प्रभावमा पारिएको म तिनताक आफू हरियो लसुनको बिटा बोकी हिँड्दा बन्दुक बोकी हिँडेको बिद्रोही जस्तो महसुस गर्थेँ, कता छोड्नु बहुदलवादी आन्दोलन ? २०४१ सालदेखि २०४६ सालसम्म मेरा राजनीतिक आईडल रहेका रुदाने २०४६ को जनआन्दोलन दबाउन मकवानपुर जिल्लाको आन्दोलन प्रतिकार समितिमा बसेको शिक्षा ग्रहण गर्ने बित्तिकै घोर जनद्रोहिमा परिणत भई २०४८ सालको संसदीय निर्वाचनमा हराउन डोका भरिभरि रुदाने बिरुद्धका पर्चा पम्प्लेट र प्रतिकार समितिमा बसी दस्तखत गरेका माईन्युटको प्रतिलिपि बोकी मकवानपुर जिल्लाभरिनै वितरण गरियो । प्रतिकार समितिमा दस्तखत बजाउनु राष्ट्रिय पञ्चायतको सदस्यको हैसियतले गरिएको हो भनेर यो सय ग्रामको गिदिमा घुस्न माधव नेपालले पैसा राखी राजालाई ढोग गरेकै हेर्नुपर्यो ।

लेख्दा लेख्दै कलमको मसी र कागजका पन्नाहरु सकिए, कल्पना र दिमागमा संचित शब्दहरु पनि सकिएको हुनाले कलम बन्द गर्दैछु, यी सम्पूर्ण बेलिबिस्तारहरु मैले देखेका, प्रत्यक्ष भोगेका, सुनेका सुनाइएका, पढेका र महसुस गरेका समेतलाई शिरमा राखी अक्षरशः उल्लेख गरेको हुँ रुदानेलाई कतिसम्म बुझेँ र तपाईं पाठकहरुलाई बुझाउन सँके ? तपाईहरुकै हातमा छाडिदिएको छु ।

चार माना माटोसँग
तेरो नाता पर्यो भनेर
माटाको भाँडाले तँ सित
दोस्ति–सोस्ति गर्यो भनेर
बसिस कैद गमलामा
सिङ्गै पृथ्वी छोडेर !

– रुदाने

Exit mobile version