कैलाश गाउँपालिकाका खेलाडीहरुको तस्वीर ।

हेटौंडाः प्रदेश प्रहरी गण हेटौंडालाई हराउँदै कैलाश गाउँपालिका मकवानपुरको मनहरी गाउँपालिकामा जारी प्रथम संस्करणको मिलन–धर्मराज स्मृति फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार गाउँपालिका वडा–८ स्थित सिम्पानी खेल मैदानमा भएको दोस्रो दिनको क्वार्टरफाइन खेलमा प्रदेश प्रहरी गण हेटौंडालाई २–१ गोलले पराजित गर्दै कैलाशले सेमिफाइनलमा आफ्नो स्थान बनाउन सफल भएको खेल संयोजक प्रकाश थिङले जानकारी दिनुभएको छ ।

कैलाशको जीतमा विजय दोङ र अभिषेक लामाले समान एक–एक गोल गरेका छन् । यता प्रदेश प्रहरीको पक्षबाट विशाल थिङले मात्र एक गोल गर्न सफल भएका हुन् । खेलको म्यान अफ द म्याच दोङ घोषित भएको संयोजक थिङले बताउनुभयो ।

प्रतियोगिताको खेलतालिकाअनुसार आज बिहीबार हासु एफसी मनहरी र ईन्द्रकमल युथ क्लबबीच प्रतिस्पर्धा हुने उहाँले बताउनुभयो । अब कैलाशले फाइनल प्रवेशका लागि २८ गते आयोजक सिम्पानी क्लबसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

सिम्पानी युथ क्लबको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ । प्रतियोगिता फाइनल खेल असार ३१ गते हुनेछ । प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताका लागि विभिन्न निकायहरुबाट सहयोग प्राप्त भइहरेको छ ।