मकवानपुरगढी गाउँपालिका

हेटौंडाः मकवानपुरगढी गाउँपालिकाले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजाबारे समीक्षा गरेको छ । गत शुक्रबार पालिकाको शिक्षा शाखा प्रमुख रामबहादुर घलानको सभाध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत नवीन स्याङ्तान लामाको प्रमुख आतिथ्यमा पालिकाभित्रका विद्यालयका प्रधानाध्यापक, विज्ञान र गणित विषयका शिक्षकको उपस्थितिमा एसईईको नतिजा समीक्षा भएको गाउँपालिकाका स्रोत शिक्षक दाशरथि उपाध्याय भण्डारीले जानकारी दिनुभयो ।

विद्यार्थीहरुलाई पढ्न प्रेरित गर्ने, क्षमता वृद्वि गर्न अतिरिक्त कक्षा सञ्चालन गर्ने, हरेक महिना परीक्षा सञ्चालन गर्ने विषयमा छलफल भएको थियो । गाउँपालिकाबाट २०८० मा ३ सय जना विद्यार्थीले एसईई परीक्षा दिएकोमा ४५ जनामात्र उत्तीर्ण भएका थिए । नतिजा राम्रो नआउनुको कारण र सुधारका लागि के गर्ने भन्ने विषयमा विद्यालयले अभिभावकहरुसँग छलफल गरिरहेको भण्डारीले जानकारी दिनुभयो ।