हेटौंडाः मकवानपुरको थाहा नगरपालिकाले मंगलबार २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को समीक्षा गरेको छ । नगर प्रमुख विष्णु विष्टको सभाध्यक्षतामा पालिकाभित्रका विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थीहरुको उपस्थितिमा एसईईको नतिजा समीक्षा भएको हो ।

समीक्षा कार्यक्रममा अभिभावकको उपस्थिति न्यून रहेको थियो । नगरका शिक्षा शाखा प्रमुख माधवविक्रम मल्लका अनुसार समीक्षामा अभिभावकको नै चासो कम देखिएको छ । नगरले सबै अभिभावकलाई कार्यक्रममा उपस्थितिका लागि खबर गरेकोमा ८–१० जना अभिभावक मात्र उपस्थित भएको उहाँले बताउनुभयो ।

आफ्नो बालबालिका र शिक्षाप्रति अभिभावकको चासो कम पाइएको भन्दै उहाँले यसमा सबैले चासो दिन आवश्यक रहेको बताउनुभयो । समीक्षामा सहभागीहरुले अभिभावक शिक्षा दिनुपर्छ भन्ने गुनासो गरेका थिए । यसका लागि नगरले अभिभावक शिक्षा कार्यक्रम सञ्चालनको तयारी गर्ने उहाँले बताउनुभयो ।

समीक्षामा शिक्षक र केही अभिभावकहरुले अहिलेका विद्यार्थीहरु पढ्न नखोज्ने र मोबाइलमा बढी व्यस्त हुने गरेको गुनासो गरेको प्रमुख मल्लले बताउनुभयो । कोभिडले शिक्षामा पारेको प्रभाव अझै परिरहेको सहभागी शिक्षकहरुको गुनासो थियो । अहिले एसईईमा भएका कमी कमजोरीका बारेमा र विषयगतरुपमा विद्यालयमा नै छलफल थालेको र धेरैजसो विद्यार्थीलाई कोचिङ कक्षाको आवश्यकता रहेको शिक्षकहरुले धारणा राखेका छन् ।

विद्यार्थीहरुलाई पढ्न प्रेरित गर्न र क्षमता मापन गर्न हरेक महिना परीक्षा सञ्चालन गरेर समीक्षा गर्नुपर्ने बताएका छन् । थाहा नगरपालिकाबाट २०८० मा ४ सय ४१ जना विद्यार्थीले एसईई परीक्षा दिएकोमा १ सय ४८ जनामात्र उत्तीर्ण भएका थिए ।

शिक्षा शाखा प्रमुख मल्लले अहिले पनि पालिकाले सबै विद्यालयहरुमा दरबन्दीअनुसारको शिक्षक परिपूर्ति गर्न नसकिरहेको स्वीकार्नुभयो । उहाँले नगरभित्रका केही विद्यालयहरु मर्ज गरेर भए पनि दरबन्दी व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो । नगरले मात्र चाहेर मर्ज गर्न नसक्ने भन्दै सबैसँग छलफल गरी भूगोल राम्रो भएको ठाउँमा ठूलो कक्षा सञ्चालन गर्न सकेमा शिक्षक दरबन्दी पनि पु¥याउन सकिने उहाँको भनाइ छ ।