हेटौंडाः हेटौंडा–१२ स्थित पदमपोखरीमा प्रदेश ३–०१–०२४ च ३९६७ नम्बरको पिकअप गाडीको ठक्करबाट घाइते भएका सोही ठाउँका ८६ वर्षीय सुर्य बहादुर थिङको मृत्यु भएको छ । थिङको सोमबार दिउँसो ४ बजेर १५ मिनेटको समयमा हेटौंडा अस्पतालमा उपचारका लागि ल्याइएकोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुका प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिनुभयो ।
गत असार ५ गते पदमपोखरीमा पिकअप गाडी ब्याक गर्ने क्रममा पैदल यात्री थिङलाई ठक्कर लाग्दा उनी गम्भीर घाइते भएका थिए । घाइते थिङलाई सोही दिन हेटौंडामा अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन लगिएको थियो । चितवनमा उपचारपश्चात डिस्चार्ज भएर असार १० गते घर फर्केका थिङलाई असार १७ गते सोमबार स्वास्थ्य अवस्था ठिक नभएपछि हेटौंडा अस्पतालमा दिउँसो ४ बजे ल्याइएकोमा डाक्टरले ४ बजेर १५ मिनेटको समयमा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
थिङको मृत्युपछि प्रहरीले गाडी चालक सोही ठाउँका ३२ वर्षीय सञ्जय तामाङलाई पक्राउ गरेको छ । यसअघि घटना घट्दा उपचार गराउने पारिवारिक शर्तसहित प्रहरीको निगरानीमा घरमा रहेका चालक लामालाई सोमबार ४ बजेर ५५ मिनेटको समयमा पक्राउ गरेको हो ।