कार्यशालामा सहभागी शिक्षकहरु ।

हेटौँडाः नेपाली भाषा शिक्षण सम्बन्धी एक दिने कार्यशाला सम्पन्न भएको छ । शुक्रबार हेटौँडा–४ स्थित नवोदय शिशु सदनमा नेपाली भाषा शिक्षक समिति हेटौँडाको आयोजनामा भएको एक दिने कार्यशालामा नगर भित्रका निजी तथा सामुदायिक विद्यालयका कक्षा ६–१० सम्म अध्ययन गराउने ४५ जना नेपाली शिक्षकहरुको उपस्थिति रहेको थियो ।

कार्यशालामा नेपाली व्याकरणमा रहेका द्विविधा, विधागत शिक्षण सम्बन्धी सहजीकरण गराइएको थियो । व्याकरण सम्बन्धी सहजीकरण ध्रुव कुमार भुजेल र विधागत शिक्षण सम्बन्धी सहजीकरण केशव सञ्जेलले गर्नु भएको थियो । नेपाली शिक्षकहरुलाई सिकाई क्षमता वृद्धि र विकासका लागि उर्जा मिलोस् भन्ने उद्देश्यले कार्यशालाको आयोजना गरिएको नगर समितिका सचिव सिएम रिमालले जानकारी दिनुभयो । कार्यशालालाई निरन्तरता दिने उद्देश्यले हरेक महिना वा दुई महिनामा सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । कार्यशाला नेपाली भाषा शिक्षक समिति हेटौँडा उपमहानगर कार्य समितिका अध्यक्ष पुरुषोत्तम आचार्यको सभाध्यक्षतामा भएको थियो ।