हेटौँडाः मकवानपुरगढी गाउँपालिका–४, कुसुमटारमा रहेको मनकामना माविको ३३ औँ अभिभावक भेला सम्पन्न भएको छ । शुक्रबार भएको अभिभावक भेलाको अवसरमा छात्रवृत्ति वितरणका साथै प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थी पुरस्कृत समेत गरिएको थियो ।
विद्यालयका प्रधानाध्यापक भोजराज चापागाईंका अनुसार अभिभावक भेलाको अवसरमा १ कक्षादेखि ९ कक्षासम्म प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । विद्यालयका १–८ कक्षासम्म अध्ययनरत छात्रालाई छात्रवृत्ति वितरण समेत गरिएको थियो । अभिभावक भेलाबाट व्यवस्थापन समिति गठनका लागि अभिभावक मध्येबाट २ जना महिला र २ जना खुलातर्फको प्रतिनिधि चयन गर्न भने सकेन ।
विद्यालयमा हाल भवन, विज्ञान सामग्री, पुस्तकालयको अभाव रहेको प्रधानाध्यापक चापागाईको भनाइ छ । विद्यालयले यस बर्ष गाउँपालिकाको सहकार्यमा अतिरिक्त कक्षा सञ्चालन गर्ने, शैक्षिक गुणस्तर वृद्धि गर्न मासिक परीक्षा लिने, विद्यार्थीलाई विद्यालयमा नियमित उपस्थित गराउने, अभिभावकलाई सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ । पहिलो त्रैमासिक परीक्षा गाउँपालिकाको शैक्षिक क्यालेण्डर अनुसार असार २३ गतेदेखि सञ्चालन गरिनेछ । विद्यालयमा १ सय ४७ जना विद्यार्थी अध्ययनरत छन् ।
कार्यक्रम गढी गाउँपालिकाका स्रोत शिक्षक दाशरथी उपाध्यायको अध्यक्षतामा भएको थियो । कार्यक्रममा ४ नम्बर वडा अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन तिमल्सिना, विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष खिलप्रसाद चौलागाईं, भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र थापा, ज्वालादेवी आविका प्रधानाध्यापक सरोज फुयाल र मनकामना सामुदायिक वनका अध्यक्ष सर्क लाल लोको आतिथ्य रहेको थियो ।