कार्यक्रमका पश्चात सामुहिक तस्वीर खिचाउँदै ।

हेटौंडाः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले चौथो वार्षिक उत्सवको अवसरमा १० जना कर्मचारीलाई सम्मान गरेको छ । शुक्रबार विहान प्रतिष्ठानले हेटौंडा अस्पतालका ४ जना र प्रतिष्ठानका ६ जना कर्मचारीलाई प्रमाणपत्रसहित सम्मान गरेको हो ।

प्रतिष्ठानले हेटौंडा अस्पतालमा १७ वर्षदेखि सेवा प्रदान गर्दै आइरहनु भएका डा. मिथिलेश ठाकुर, डायलायसिस विभागकी इन्चार्ज सीमा कँडेल, इमर्जेन्सीका अहेव पर्वतकुमार थिङ र २० वर्षदेखि अस्पतालमा कार्यरत कार्यालय सहयोगी दुर्गा अधिकारीलाई सम्मान गरेको छ । यस्तै, प्रतिष्ठानतर्फ बायोकेमिस्ट्रीका प्रशिक्षक सुरेन्द्र मरासिनी, प्रशासनिक कर्मचारी ससिता दङ्गाल, सूचना अधिकारी शक्ति जिसी, कर्मचारी कुमार बिडारी, प्रतिष्ठानको खरिद शाखाका विशाल लामिछाने र लेखा शाखाका सुरज विष्टलाई सम्मान गरिएको हो ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्य रहेको थियो भने उपकुलपति प्रा.डा. विश्वराज जोशीको सभाध्यक्षता रहेको थियो । प्रमुख आतिथि जम्कट्टेलले कार्यक्रममा नेपालमा कोटा प्रणाली हटाउनुपर्ने बताउनुभयो । कोटा तोकेका कारण धेरै विद्यार्थीले पढ्न नपाएको र विदेशिने गरेको उहाँको भनाइ छ । प्रतिष्ठान प्रदेशको गौरव रहेको भन्दै प्रतिष्ठानको मुल उद्देश्य दक्ष्य जनशक्ति उत्पादन गर्ने रहेको उहाँले बताउनुभयो । प्रतिष्ठानले एक हजार जना विद्यार्थी पढाउने लक्ष्य राखेको छ ।

कार्यक्रममा प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईंले प्रतिष्ठानको आर्थिक वर्षको गतिविधिका बारेमा प्रस्तुति गर्नुभएको थियो । उहाँले कार्यक्रमबिच हेटौंडा अस्पतालमा आइतबारदेखि ओपीडी सेवाको समय बढाउने घोषणा गर्नुभएको हो । उहाँका अनुसार अस्पतालले आइतबारबाट विहान ९ बजेदेखि ४ बजेसम्म ओपीडी सेवा प्रदान गर्ने बताउनुभयो । बिना प्रतिष्ठानको अस्पताल सम्भव नहुने भन्दै उहाँले अस्पतालमा सेवा थपिएको बताउनुभयो ।

प्रतिष्ठानले कार्यक्रममा स्मारिका लोकार्पण र वितरणसमेत गरेको थियो । कार्यक्रममा पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री युवराज दुलाल, खानेपानी, उर्जा तथा सिँचाइमन्त्री एकालाल श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानलगायतको आतिथ्य रहेको थियो । अहिले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ सय ८० जना अध्यनरत छन् ।