हेटौंडाः मकवानपुरमा यु–१७ फुटबलका लागि खेलाडी छनोट सुरु भएको छ । शुक्रबार हेटौंडा–१० स्थित वनविज्ञान क्याम्पसको चौरमा छनोट प्रतियोगिता सुरु भएको हो ।
मकवानपुर जिल्ला फुटबल संघले सुरु गरेको छनोट प्रतियोगितामा जिल्लाका विभिन्न गाउँपालिकाबाट करिब १ सय ८७ खेलाडीहरु सहभागी भएका छन् । छनोट प्रतियोगितामा बागमती, इन्द्रसरोवर, थाहा, बकैया, मनहरी, हेटौंडालगायतका पालिकाबाट खेलाडीहरु सहभागी हुन आएको छनोट प्रतियोगिताका संयोजक तथा संघका उपाध्यक्ष युवराज लामाले बताउनुभयो । छनोट प्रतियोगिता आज शनिबारसम्म सञ्चालन हुने संयोजक लामाले बताउनुभयो ।
प्रतियोगितामा सहभागी हुन आएका १ सय ८७ जना खेलाडीहरु मध्ये १० जना खेलाडी जिल्लाको प्रारम्भिक छनोटमा राख्ने उहाँले बताउनुभयो । छनोट प्रतियोगितामा सहभागी गराउनका लागि खेलाडीहरुसँग प्रतिव्यक्ति एक सय रुपैयाँको दरले दर्ता शुल्क लिइएको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले १७ वर्ष उमेर समूहका किशोर खेलाडीहरुलाई एसियन कप क्वालिफाइ प्रतियोगितामा सहभागी गराउनका लागि ४८ जिल्लाको फुटबल संघलाई खेलाडीहरु छनोट गर्न निर्देशन दिएको छ । संघले उत्कृष्ट किशोर खेलाडीहरु उत्पादन गर्ने लक्ष्यसहित जिल्लालाई १० जना खेलाडी छनोट गर्न निर्देशन दिएको हो ।
मकवानपुरका एन्फा प्रशिक्षक विजयलाल श्रेष्ठ र ज्ञानु मोक्तानको नेतृत्वमा खेलाडीहरु छनोट गरिने बताइएको छ । किशोर खेलाडीहरुको खेल कौशलता र प्रदर्शनीको आधारमा दुबै प्रशिक्षकले खेलाडीहरुको मूल्यांकन गर्नुहुनेछ । यसअघि पनि यु–१३ को छनोट प्रतियोगितामा संघका उपाध्यक्ष युवराज लामाको संयोजकत्वमा खेलाडीहरु सहभागी भएका थिए भने श्रेष्ठको नेतृत्वमा टिम छनोट गरिएको थियो ।
जिल्लाबाट प्रारम्भिक छनोटमा पर्ने खेलाडीहरुले असार १७ गतेदेखि २२ गतेसम्म काठमाडौंमा हुने प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुन पाउनेछन् । प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुने मकवानपुरका खेलाडीहरुले १३ जिल्लाका खेलाडीहरुसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । प्रदेशबाट छनोट भएका खेलाडीहरुले साउन २२ गतेदेखि ३२ गतेसम्म हुने केन्द्रीस्तरको छनोट प्रतियोगितामा सहभागी जनाउन पाउनेछन् भने केन्द्रबाट छनोट भएका खेलाडीले असोज २ गतेदेखि १२ गतेसम्म हुने यु–१७ को राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुनेछन् ।