Home मुख्य समाचार राइड सेयरिङलाई कानुनी दायरामा ल्याउने सरकारको तयारी भइरहेको छः मन्त्री लम्साल

राइड सेयरिङलाई कानुनी दायरामा ल्याउने सरकारको तयारी भइरहेको छः मन्त्री लम्साल

श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल

हेटौंडाः बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले प्रदेश सरकार रोजगारी सृजनाको कार्यक्रम अघि बढेको बताउनुभएको छ । सरकारले रोजगारी सृजनाको लागि ठोस कार्यक्रम सहित अघि बढ्ने बजेटमा व्यवस्था गरेको उहाँले बताउनुभयो ।

प्रदेशसभाको बिहीबार बसेको बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेट माथि उठेको प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले रोजगार मेला संचालन गरी श्रमिक र मालिकको भेट हुने वातावरण निर्माण गर्ने तयारी रहेको बताउनुभयो । सरकारले राजस्व वृद्धिका लागि नीतिगत सुधार गरेर दायरा वृद्धिमा काम गर्ने तयारी गरेको उहाँको भनाई छ ।

राइड सेयरिङलाई कानुनी दायरामा ल्याएर नियमन गर्न तथा राजस्व वृद्धिमा नीतिगत सुधारको काम गर्ने तयारी रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार मन्त्रालयले चालु आर्थिक वर्षको जेठसम्ममा १० अर्व रुपैयाँ राजस्व संकलन गरेको छ ।

‘श्रम रोजगार तथा यातायात मन्त्रालय राजस्वको संकलनको गर्ने महत्वपूर्ण मन्त्रालय हो । मन्त्रालयले जेठसम्ममा १० अर्व राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षमा ९० प्रतिशत राजस्व संकलन हुने अवस्था छ । श्रम नीति निर्माण भइसकेको छ । संघीय सरकारसंगको समन्वयमा ऐन निर्माण अघि बढ्ने तयारी छ ।’ उहाँले भन्नुभयो ।

सरकारले यातायात सेवालाई सहज बनाउन अनलाइन र डिजिटल प्रविधिको प्रयोग गर्ने सरकारको तयारी रहेको मन्त्री लम्सालले बताउनुभयो । सार्वजनिक सवारिको भाडा भुक्तानीलाई नगद रहित बनाउने, मातहतका कार्यालयहरु डिजिटल बनाउने काम सरकारले गरिरहेको उहाँको भनाई छ । प्रदेश सरकारले ज्यालादारी र अस्थायी कर्मचारीलाई सामाजिक सुरक्षामा कोषमा जोड्ने काम भइरहेको उहाँले बताउनुभयो ।

‘प्रदेश सरकारले अटोल्याण्ड निर्माणको काम अघि बढाएको छ । सवारी मर्मतलाई व्यवस्थित गर्न अटोल्याण्ड स्थापनाको कन्सेप्ट अघि बढेको छ । इलिक्ट्रिक सवारी साधन सहित हाइड्रोजन ग्यासको प्रयोगबाट सवारी संचालनको लागि संभाव्यता अध्ययनको तयारी सरकारको रहेको छ । गृहणी महिलाहरुका लागि सिपमुलक तालिम दिएर उद्यमशीलतामा जोड्न सरकारले ४८ लाख रुपैयाँ बजेट लिएर कार्यक्रम अघि बढाएको छ ।’ मन्त्री लम्सालले भन्नुभयो ।

Exit mobile version