भीमफेदीः मकवानपुरको भीमफेदी गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएको छ । सोमबार गाउँपालिकाको सभाकक्षमा गाउँपालिकाका उपाध्यक्ष सञ्जीव श्रेष्ठले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमलाई सभाले सर्वसम्मत पारित गरेको हो ।
।
भीमफेदी गाउँपालिकाको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा विद्यालयमा खाजा कार्यक्रमलाई विस्तार गर्ने जनाएको छ। संघीय सरकारले ५ कक्षासम्म सञ्चालक गरेको खाजा कार्यक्रमलाई पालिकाले विस्तार गरेर ८ कक्षासम्म पुर्याउने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । भीमफेदी गाउँपालिकाले ८ नम्बर वडास्थित पञ्चकन्या माविमा व्यवस्थित र सुविधासम्पन्न छात्रावास निर्माण गरिएको जनाएको छ ।
रैथाने बाली उत्पादन बढाउन कोदो र फापरमा नगद अनुदान वितरण गर्ने, न्युनतम समर्थन मूल्य तोक्ने जनाएको छ । यस्तै अनौपचारिक क्षेत्रका १०० जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराउने प्रस्ताव गरेको छ । भीमफेदी गाउँपालिकाले चालु आर्थिक बर्षमा पनि १०० जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराएको छ । गाउँ सभामा न्यायिक समितिका संयोजक तथा गाउँपालिकाका उपाध्यक्ष सञ्जीव श्रेष्ठले न्यायिक समितिको प्रगति प्रतिवेदन पनि प्रस्तुत गर्नुभएको छ । उपाध्यक्ष श्रेष्ठले आगामी आर्थिक बर्षको आर्थिक विधेयक पनि प्रस्तुत गर्नुभएको छ ।
नीति तथा कार्यक्रम, आर्थिक विधेयक र न्यायिक समितिको प्रतिवेदन पारित गर्दै अर्को सूचना नभएसम्मका लागि गाउँपालिकाका अध्यक्ष हिदम लामाले गाउँ सभा स्थगित गर्नुभएको छ ।