रजैया (मनहरी)ः मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ९० करोड १३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । सोमबार सम्पन्न गाउँ सभामा गाउँपालिका उपाध्यक्ष सीता पुलामीले आर्थिक वर्ष २०८१/०८२ को लागि ९० करोड १३ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको छ ।
गाउँपालिकाले चालू आर्थिक वर्षको तुलनामा ३ करोड रुपैयाँ कम बजेट ल्याएको हो । गाउँपालिकाले चालू आर्थिक वर्षका लागि ९३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तथा आन्तरिक राजस्व समेत घटेकाले सोको प्रभाव बजेटमा पनि पर्न गरेको उपाध्यक्ष पुलामीले बताउनुभयो ।
उहाँका अनुसार गाउँपालिकाले कुल बजेट मध्ये आन्तरिक आय स्रोत तथा बैंक नगद अल्याबाट ३० करोड २७ लाख ९४ हजार रुपैयाँ रहने अनुमान गरेको छ । संघीय सरकारको वित्तीय समानीकरण अनुदान, राजश्व बाँडफाड, समपुरक, सशर्त र विशेष गरी ३५ करोड ३६ लाख ५५ हजार रुपैयाँ, प्रदेश सरकारको समानीकरण अनुदान, सवारी कर वाँडफाड, सशर्त, समपुरक र विशेष गरी ६ करोड २८ लाख १० हजार रुपैयाँ प्राप्त हुनेछ । १८ करोड ७ लाख ५२ हजार रुपैयाँ संघीय सरकार राजस्व बाँडफाँड, प्रदेश सरकार सवारी कर, वन रोयल्टी तथा अन्य निकायबाट प्राप्त हुने अनुमान गरिएको छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल बजेटमध्ये संघीय सरकारको सशर्त र समपुरक गरी ३५ करोड ३६ लाख ५५ हजार रुपैयाँ, प्रदेश सरकारको समपुरक, विशेष र सशर्त तर्फ ६ करोड २८ लाख १० हजार रुपैयाँ, संघ र प्रदेश सरकारले उपलब्ध गराएको समपुरक बजेटमा गाउँपालिकाको तर्फबाट समेत गरी २ करोड ८२ लाख रुपैयाँ खर्छ हुने अनुमान गरिएको छ ।
प्रशासनिक चालु खर्च तथा कार्यक्रम खर्च तर्फ १६ करोड ५० लाख २२ हजार रुपैयाँ, विषयगत कार्यक्रम क्रियाकलापतर्फ ३० करोड ७३ लाख ४७ हजार रुपैयाँ, वडास्तरीय योजनातर्फ ९ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
गाउँपालिकास्तरीय योजना र पूर्वाधार विकास योजनाका लागि ३३ करोड ३६ लाख ४३ हजार रुपैयाँ सुशासन, संस्थागत विकासका लागि १३ करोड ५९ लाख ७२ हजार रुपैयाँ, आर्थिक विकास तर्फ ४ करोड ३ लाख १० हजार रुपैयाँ, सामाजिक विकासतर्फ २८ करोड ९० लाख ८७ हजार रुपैयाँ, पूर्वाधार विकास तर्फ ३३ करोड ३६ लाख ४३ हजार रुपैयाँ, वन, वातावरण तथा विपद व्यवस्थापन तर्फ ७० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।