हेटौँडाः हेटौँडा–११ स्थित आनन्द भैरव आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री र विद्यालय पोशाक वितरण गरिएको छ । वडा कार्यालयको सहयोगमा आइतबार एक लाख रुपैयाँ बराबरको शैक्षिक सामग्री र विद्यालयको पोशाक वितरण गरिएको हो ।
वडा कार्यालयले चालु आर्थिक वर्ष २०८०–८१ को शैक्षिक कार्यक्रमअन्तर्गत २ लाख ५० हजार रुपैयाँको बजेटबाट कक्षा इसीडीदेखि कक्षा–८ सम्मका विद्यार्थीलाई एक लाख रुपैयाँ बराबरको कापी, कलम र अन्य विद्यार्थीलाई पोशाक वितरण गरिएको विद्यालयका प्रधानाध्यापक कृष्ण खनालले जानकारी दिनुभएको छ ।
वडा कार्यालयको प्र्रस्तावना अनुसार केजी कक्षाको सहजकर्ताको साढे दुई महिनाको पारिश्रमिक स्वरुप ५० हजार रुपैयाँ, विद्यालयको फोहोर व्यवस्थापन र डस्टवीनका लागि १५ हजार रुपैयाँ र शौचालय सरसफाई सामग्री खरिद तथा सरसफाई पारिश्रमिक स्वरुप ५० हजार रुपैयाँ छुट्याएको प्रधानाध्यापक खनालले बताउनुभयो । कार्यक्रममा अभिभावकको उपस्थितिमा २ लाख ५० हजार रुपैयाँको खर्च सम्बन्धी जानकारी पनि गराइएको छ । ८ कक्षासम्म पठनपाठन हुने विद्यालयमा १ सय ४८ जना विद्यार्थी अध्ययनरत छन् । कक्षा इसीडीदेखि २ कक्षासम्म अङग्रेजी र नेपाली माध्यममा पढाई हुने गरेको बताउहुँदै आगामी बर्षदेखि कक्षा–८ सम्म अङ्गेजी माध्यमको कक्षा सञ्चालनमा ल्याउने योजना रहेको उहाँले बताउनुभयो ।
अङ्ग्रेजी माध्यमको कक्षालाई सक्रिय रुपले अगाडि बढाउनका लागि पहल गर्ने उहाँको भनाई छ । शिक्षक अभिभावक संघका अध्यक्ष लक्ष्मी कार्कीको सभाध्यक्षता तथा वडाध्यक्ष जुना दहालको प्रमुख आतिथ्यमा शैक्षिक सामग्री तथा पोशाक वितरण कार्यक्रम भएको हो । कार्यक्रममा विद्यालय व्यस्थापन समितिका सदस्य राम बहादुर थोकर, राधिका पौडेल लगायतको उपस्थिति रहेको थियो ।