सांकेतिक तस्वीर ।

हेटौँडाः बागमती प्रदेशको ४ जिल्लामा एकैदिन ६ जनाको मृत्यु भएको छ । प्रदेशको रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक र चितवन जिल्लामा ६ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । रामेछाप जिल्लाको रामेछाप नगरपालिका–५, माझीगाउँमा कोशी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६० वर्षीय जय बहादुर माझी रहेको प्रहरीले जानकारी दिएको छ ।

शनिबार बिहान ११ बजेर ३० मिनेटको समयमा माझी आफ्नै घरदेखि ३ सय मिटर दक्षिण पर्ने सुनकोशी नदि आसपासमा गाईबस्तु चराउन भनी गएका थिए । माझी कोशी नदी तर्ने क्रममा ट्युवबाट झरी नदिमा डुबेर बेहोस अवस्थामा फेला परेका थिए । माझीलाई उपचारका लागि सुनकोशी सामुदायिक अस्पतालमा खुर्कोट लगिएकोमा उपचारको क्रममा दिउँसो १ बजेर ३० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दोलखा जिल्लाको शैलुङ गाउँपालिका–२, पाटाको थगाम जंगलको खोल्सामा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा ५३ बर्षीय डिल बहादुर अधिकारी रहेको प्रहरीले जानकारी दिएको छ । अधिकारी गत सोमबार कसैलाई नसोधी घरबाट हिँडेकोमा शनिबार साँझ ६ बजेर ३० मिनेटको समयमा अधिकारी थगाम जंगलको खोल्सामा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–६, ढुङ्गाना बेशीमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा ६० वर्षीय चन्द्र दनुवार रहेको प्रहरीले जानकारी दिएको छ । शनिबार बिहान ९ बजेको समयमा दनुवार खेतमा जान्छु भनी घरबाट निस्केर हिँडेकोमा दिउँसो २ बजेर १० मिनेटको समयमा सडकको छेउमा मृत अवस्था फेला परेको प्रहरीले जानकारी दिएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल लगिएको छ ।

चितवन जिल्लाको भरतपुर महानगरपालिका–१९, रामपुरमा अचेत अवस्थामा फेला परेका पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा साविक थालजुङ गाउँपालिका–१ बस्ने ५९ वर्षीय आश बहादुर सार्की रहेको प्रहरीले जानकारी दिएको छ । शनिबार बिहान १० बजेको समयमा लक्ष्मीचोकको घाँसे झाडीमा सार्की अचेत अवस्थामा फेला परेका थिए । सार्कीलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा बिहान १० बजेर ३५ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

चितवन जिल्लाका ईच्छाकामना गाउँपालिका–६, कालीखोलास्थित त्रिशुली नदीमा शव फेला परेको छ । शनिबार त्रिशुली नदि किनारमा अन्दाजी ३५ वर्ष जस्तोे लिङ्ग पहिचान हुन नसक्ने शव सडेर गलिसकेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । यस्तै, चितवन जिल्लाको भरतपुर महानगरपालिका–८, अशोकचोकमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा तनहुँ जिल्लाको भानु नगरपालिका–१२ घर भई हाल अशोकचोक बस्ने ५२ वर्षीय जुद्द बहादुर बुढा थापा रहेको प्रहरीले जानकारी दिएको छ । शनिबार साँझ ५ बजेर ३० मिनेटको समयमा थापा अशोकचोकमा मृत अवस्थामा फेला परेका थिए । मुचुल्कासहितको टोली खटी अनुसन्धान भइरहेको र शरीरमा चोट पटक नरहेको प्रहरीले जनाएको छ ।