हेटौँडाः पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडाको थानाभर्याङबाट करिव २ करोड ७० लाख रुपैयाँ बढीको अवैध विद्युतीय चुरोट (भेप) सहित ५ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । प्रहरीले यात्रुबसमा लुकाई ल्याएको अवस्थामा ५८ काटुन अवैध भेप र भेपका फ्लेवरहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
विशेष सूचनाको आधारमा बिहिबार दिनको ४ बजेको समयमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले टोलीले अवैध भेप बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालको कमाण्डमा खटिएको प्रहरीले काठमाडौंबाट हेटौँडा हुँदै भारतको दिल्लीतर्फ जाँदै गरेको ना ६ ख ७१६३ नम्बरको यात्रु बसबाट अवैध भेप बरामद गरेको हो ।
प्रहरी उपरीक्षक रिजालका अनुसार बसलाई रोकेर सुरक्षाजाँच गर्दा बसको यात्रु बस्ने सिट माथि सिलिङको भागमा फल्सवटम बनाई भन्सार छलेर ल्याइएको भेप फेला परेको हो । प्रहरीले बससहित चालक दोलखा जिल्लाको भिमेश्वर नगरपालिका–२ का ३७ बर्षीय सलाम मोक्तान, सहचालक उदयपुर जिल्लाको कटारी नगरपालिका–११ का २७ बर्षीय प्रविन्द्र राना, नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका–७ का ३० बर्षीय ईन्द्र बहादुर दर्जी, ३० बर्षीय सन्तोष भुसाल र धनकुटा जिल्लाको बेलारा नगरपालिका–१६ का २० बर्षीय राज कुमार हिमाङलाई पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरुले यसअघि पनि विभिन्न समयमा भन्सार छली गरेर अवैध सामानहरु चीनबाट भारत पुर्याउने गरेको प्रहरी उपरीक्षक रिजालले बताउनुभयो । उहाँका अनुसार भारतीय दूतावासबाट रुट परमिट बनाई विभिन्न ट्राभल एजेन्सीको भिजिटिङ कार्डको प्रयोग गरी नेपाल भारत यात्रुलाई सेवा दिने बहानामा बसमा फल्स बटम बनाई भेप तस्करी गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
एक महिनाका लागि नेपाल, भारत र अन्य देशका यात्रुलाई भारत घुमाउने भनी नेपालस्थित भारतीय दूतावासबाट २०८१ असार ५ मा रोड परमिट लिएको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्ति र अवैध भेप थप अनुसन्धान तथा कारबाहीका लागि बारा जिल्लाको पथलैयास्थित राजस्व अनुसन्धान कार्यालय पठाउने तयारी गरिएको प्रहरी उपरीक्षक रिजालको भनाई छ ।