हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले २०८१ साल असार १० गते बोलाएको नगर सभा बैठक गुपचुपरुपमा २०८१ असार ७ गते नै सम्पन्न गरेको छ । २०८१ असार २ गते नगर प्रमुख मीना कुमारी लामाले नीति तथा कार्यक्रम प्रस्तुत गर्न भनेर आव्हान गरिएको नगर सभामा नगर उपप्रमुख राजेश बानियाँले आकस्मिकरुपमा बजेट समेत प्रस्तुत गर्नुभएको थियो ।

नगर सभाका सदस्यलाई समेत नगर प्रमुख लामाले नीति तथा कार्यक्रम मात्रै प्रस्तुत गर्ने भनिएको सभामा उपप्रमुख बानियाँले बजेट प्रस्तुत गर्ने जानकारी थिएन । नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रममा सञ्चारकर्मीलाई औपचारिक निमन्त्रणा समेत गरिएको थिएन । उपमहानगरले प्रमुख प्रशासकीय अधिकृत रामबाबु पुरी सरुवा भएर जान लागेको कारण देखाउँदै असार १० गतेलाई आव्हान गरिएको नगर सभा गुपचुपरुपमै असार ७ गते सम्पन्न गरेको हो । असार ७ गते शुक्रबारको नगर सभाको विषयमा औपचारिक, अनौपचारिक कुनै किसिमबाट सञ्चारकर्मीलाई जानकारी गराइएको छैन ।

नगर सभा बैठक भएको भन्ने जानकारी प्राप्त भएपछि असार ७ गते शुक्रबार बिहान साढे ११ बजेको समयमा नगर सभास्थल हेर्टौँडा–२ स्थित पल्पसा प्याराडाइज होटल पुग्दा आगामी आर्थिक बर्षको बजेट पारित गरेर नगर सभा सदस्यहरु खाना खाँदै थिए । नगर सभा किन अग्रिमरुपमा गरियो भन्ने जिज्ञासामा नगर सभाका सदस्य तथा वडाअध्यक्षहरुले उपमहानगरको प्रमुख प्रशासकीय अधिकृत रामबाबु पुरीको सरुवा भएकोले अगाडि नै नगर सभा गर्नुपर्ने अवस्था आएको जानकारी दिए । २०८० साल फागुन २३ गते उपमहानगर हाजिर हुनुभएका पुरी छोटो अवधिमै सरुवा लिएर जान लाग्नुभएको हो ।