Home अर्थ/व्यापार बजेट पुनर्लेखन नभए प्रदेश सभा चल्न दिन्नौंः प्रमुख प्रतिपक्षी दलका नेता लामा

बजेट पुनर्लेखन नभए प्रदेश सभा चल्न दिन्नौंः प्रमुख प्रतिपक्षी दलका नेता लामा

बागमती प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको दलका नेता बहादुर सिं लामा ।

हेटौँडाः बागमती प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको दलका नेता बहादुर सिं लामाले बजेट पुनर्लेखन नभएसम्म प्रदेश सभा सञ्चालन हुन नसक्ने चेतावनी दिनुभएको छ । प्रदेश सरकारको आगामी आर्थिक बर्षको बजेट माथिको छलफल गर्न बिहिबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा बोल्नुहुँदै नेता लामाले बजेट अस्पष्ट र सन्तुलित नभएकाले पुनर्लेखनको माग गर्नुभएको हो ।

नेता लामाले सरकारले बजेटमा चालु खर्चमा अर्थ विविधको १ अर्ब बढी बजेट राखिको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । बजेटमा आर्थिक अराजकता देखिएको उल्लेख गर्नुहुँदै वक्तव्य र कार्यक्रम पुस्तिकामा बजेटको आकार नै फरक रहेकाले बजेट स्वीकार गर्न नसकिने उहाँको भनाई छ ।

‘बजेट कार्यक्रमको पीडीएफ फाइल र कार्यक्रम पुस्तिका नै परिवर्तन गरिएको छ । वक्तव्यमा ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट ल्याइएको छ । कार्यक्रम पुस्तिकामा ६६ अर्बको कार्यक्रम कसरी आयो ? सरकारले सांसदको आँखामा छारो हाल्ने काम गरिरहेको छ’, लामाले भन्नुभयो, ‘सरकार छल–कपट गरेर जनता छक्याउन केन्द्रित भएको छ । आर्थिक मामिला मन्त्रालय नियमन गर्ने हो कि विकासे मन्त्रालय ? अर्थ विविधमा दोहोरो बजेट राखिएको छ ।’

सरकारले प्रदेश सभालाई नै असक्षम र असफल बनाउने काम गरिरहेको उहाँको जीकिर छ । आर्थिक अनुशासन र सुशासनको विषयलाई बेवास्ता गर्दै सरकारले बजेट ल्याएको उहाँले आरोप छ । बजेटमा आय र व्ययको हिसाब समेत मिलाउन नसकेको, नीति तथा कार्यक्रमको तरतम्य र बजेटको प्राथमिकता नै निर्धारण हुन नसकेको, बजेटले आर्थिक, सामाजिक, भौगोलिक विषयलाई सन्तुलित गर्न नसकेको उहाँको भनाई छ ।

‘प्रदेशको आर्थिक वृद्धिदर ६ प्रतिशत अनुमान गरिएकोमा १.८ प्रतिशत मात्र रहेको छ । जुन अन्य प्रदशेको तुलनामा सबैभन्दा कम रहेको छ । प्रदेश सरकारको कार्यक्रम प्रभावकारी नहुँदा आर्थिक वृद्धिदर समेत कम भएको हो’, लामाले भन्नुभयो । सरकारले ल्याएको अस्पष्ट बजेटमा १ लाख र ५ लाखका योजना समावेश गरेर पैसा छर्ने काम गरेको उहाँले बताउनुभयो । साना÷साना योजनामा बटेज हाल्दा कार्यान्वयन र नियमनमा समस्या हुने भन्दै उहाँले ध्यानाकर्षण गराउनुभएको छ ।

Exit mobile version