नवनिर्वाचित अध्यक्षसहित पदाधिकारीहरु ।

हेटौँडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले गाउँकमिटीको अध्यक्षमा जीत बहादुर घिमिरे चयन हुनुभएको छ । शुक्रबार भएको दोस्रो अधिवेशनले घिमिरे सर्वसम्मत अध्यक्ष चयन हुनुभएको हो । घिमिरेको अध्यक्षतामा ६५ सदस्यीय गाउँ कमिटी गठन गरिएको छ ।

गाउँ कमिटीको उपाध्यक्षमा चन्द्र योञ्जन चयन हुनुभएको छ । सचिवमा रोमनाथ रेग्मी ५ मतले विजयी हुनुभएको हो । अर्का आकांक्षी उमेश अधिकारीलाई पराजित गर्दै रेग्मी सचिवमा विजयी हुनुभयो । रेग्मीले ७५ मत प्राप्त गर्दा अधिकारीले ७० मात्र प्राप्त गर्नुभयो । निर्वाचनको प्रक्रियामा १ सय ७० जनाले मतदान गरेकोमा ७ वटा मत बदर भएको थियो । यस्तै उपसचिवमा खुलातर्फ सीताराम र महिलामा अम्बिका अधिकारी चयन भएका छन् ।

खुल्ला युवा सदस्यमा उत्तम अधिकारीले विष्णु सिलवाललाई ३२ मतले हराउँदै सदस्यमा निर्वाचित भएका हुन् । खुल्ला सदस्य पदका लागि जम्मा १ सय ७२ जनाले मतदान गरेको थिए । नवनिर्वाचित पदाधिकारीहरुको कार्यकाल ३ बर्षको हुनेछ । निर्वाचन मण्डलका संयोजक बद्री प्रसाद लम्सालको संयोजनमा केही समयपछि सपथग्रहण कार्यक्रम हुनेछ ।

कमिटीका नवनिर्वाचित अध्यक्ष घिमिरेको सभाध्यक्षमा तथा एमालेका पोलिटव्युरो सदस्य एवम् जिल्ला इन्चार्ज देवी ज्ञावलीको प्रमुख आतिथ्यमा अधिवेशनको उद्घाटन कार्यक्रम भएको थियो । कार्यक्रममा संघीय संसदमा नेकपा एमाले सांसदीय दलका प्रमुख सचेतक महेश बर्तौला, प्रदेश कमिटीका संयोजक बद्री लम्साल र नेकपा एमाले मकवानपुर जिल्ला कमिटीका अध्यक्ष श्रीधर पोखरेलको आतिथ्य रहेको थियो ।