बागमती प्रदेश सभा सचिवालय ।

हेटौँडाः बागमती प्रदेशसभा बैकठ बस्दैछ । आज शुक्रबार दिउँसो ३ बजे प्रदेशसभाको बैठक बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

उक्त बैठकमा प्रदेश सरकारको आर्थिक सर्वेक्षण पेश हुने कार्यसूचि रहेको प्रदेशसभाका प्रवक्ता मनोज कुमार गुप्ताले जानकारी दिनुभएको छ । उहाँका अनुसार प्रदेशसभा बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने तय भएको छ । दिउँसो १ बजेका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक आह्वान भएको उहाँले जानकारी दिनुभएको छ ।

बैठकले प्रदेश सरकारको बजेट संसदमा पेश गर्ने, बजेट माथि संशोधन तथा छलफल गर्ने कार्यसूचि तयार पार्ने उहाँले बताउनुभयो । प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट असार १ गते संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ । बजेट प्रस्तुत गर्न प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले असार १ गते दिउँसो ४ बजेका लागि प्रदेशसभा बैठक आह्वान गर्नुभएको छ ।

प्रदेश सरकारले आगामी आर्थिक बर्षमा चालु आर्थिक बर्षको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । आर्थिक मन्दीका कारण राजस्व उठ्न नसकेको र अनुदान समेत कटौती भएकाले आन्तरिक स्रोतको अधिकतम प्रयोग गरी बजेट ल्याउने सरकारको तयारी गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक बर्षमा शिक्षा, स्वास्थ्य र रोजगारी सृजनामा प्राथमिकताका साथ बजेट विनियोजन गर्ने बताउँदै आएको छ भने प्रदेश सरकारले बजेटलाई विवादरहित बनाउन प्रतिसांसद ३ करोड रुपैयाँको योजना बजेटमा समावेश गर्ने तयारी गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ६२ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।